काठमाडौँ । हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा मंगलबार बिहान जिप दुर्घटनामा परेको छ।
प्रहरीका अनुसार जिप सडकबाट भिरतर्फ खसेको हो। दुर्घटनाको सूचना पाएपछि भीमफेदी इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो। प्रहरीका अनुसार दुर्घटनाग्रस्त जिपमा ६ जना सवार थिए। उनीहरूको अवस्थाबारे तथा दुर्घटनाको कारणबारे प्रारम्भिक विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले उद्धार तथा दुर्घटनासम्बन्धी थप विवरण संकलन गर्ने काम अघि बढाएको छ।