काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षा उद्योगसँग सम्बन्धित नीतिगत विषयमा सरोकारवालाबीच छलफल तथा संवाद हुने भएको छ।
शैक्षिक परामर्श व्यवसायी महासंघ नेपाल (फेस नेपाल) को आयोजनामा सोमबार ‘नीति संवाद’ कार्यक्रम आयोजना हुन लागेको हो। ‘सरोकारवालाको प्रतिनिधित्वदेखि नीतिगत नेतृत्वसम्म’ भन्ने अवधारणामा आयोजना हुन लागेको कार्यक्रममा राजनीतिक नेतृत्व, नीतिनिर्माता, सरकारी अधिकारी, शिक्षा क्षेत्रका नेतृत्वकर्ता, प्राज्ञिक व्यक्तित्व, उद्यमी तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।
कार्यक्रममा अन्तर्राष्ट्रिय शिक्षा उद्योगसँग सम्बन्धित विभिन्न नीतिगत विषय, चुनौती र सम्भावनाबारे सरोकारवालाबीच प्रत्यक्ष छलफल गरिने आयोजकले जनाएको छ। शिक्षा क्षेत्रमा कार्यरत व्यवसायी तथा अन्य सरोकारवालाको अनुभव, सुझाव र समस्यालाई नीतिनिर्माण प्रक्रियासँग जोड्दै प्रभावकारी नीति निर्माणका लागि आवश्यक संवाद अघि बढाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ।
कार्यक्रममा नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको वर्तमान अवस्था, शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित नीतिगत समस्या, सरकारी नीति तथा त्यसको कार्यान्वयन, विदेश अध्ययनमा जाने नेपाली विद्यार्थीका विषय तथा शिक्षा क्षेत्रको आगामी दिशाबारे छलफल हुनेछ।
फेस नेपालले शिक्षा क्षेत्रमा संलग्न विभिन्न सरोकारवालाबीच नियमित संवाद, सहकार्य र समन्वयमार्फत नीतिगत सुधारका लागि योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।
‘नीति संवाद’ कार्यक्रम २०२६ अगस्ट १७ अर्थात् सोमबार काठमाडौंस्थित एलिस रिसेप्सन्समा आयोजना हुनेछ। आयोजकले राजनीतिक नेतृत्व, नीतिनिर्माता, शिक्षा क्षेत्रका विज्ञ, उद्यमी, शैक्षिक व्यवसायी तथा सञ्चार क्षेत्रका प्रतिनिधिलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्।