काठमाडौँ । नाममा ‘आर्मी’, सैनिक शैलीको पोसाक र विपद्का बेला सक्रियताका कारण पछिल्लो समय ‘ग्रीन आर्मी नेपाल’ चर्चामा छ।
संस्थाको नाम र संरचनालाई लिएर विभिन्न प्रश्न उठिरहेका बेला ग्रीन आर्मीले भने आफू सैन्य संगठन नभई वातावरण संरक्षण, विपद् व्यवस्थापन र स्वयंसेवी सेवामा युवालाई जोड्ने अभियानका रूपमा काम गरिरहेको जनाएको छ। ग्रीन आर्मीले विद्यालय तहदेखि नै विद्यार्थीलाई अनुशासन, आत्मरक्षा, प्राथमिक उपचार, विपद् व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी व्यवहारिक ज्ञान दिँदै आएको छ। काठमाडौंको चाबहिलस्थित नेसनल अर्किड बोर्डिङ स्कुलमा पनि विद्यार्थीलाई ग्रीन आर्मीको प्रशिक्षण दिइँदै आएको छ।
विद्यालयका संयोजक अविनास यादवका अनुसार सामाजिक सञ्जालमार्फत ग्रीन आर्मीबारे जानकारी पाएपछि विद्यार्थीको बौद्धिक तथा समग्र विकासमा सहयोग पुग्ने अपेक्षासहित प्रशिक्षण सुरु गरिएको हो। उनका अनुसार विद्यार्थीलाई विपद्का बेला आफू सुरक्षित रहनेदेखि आवश्यक पर्दा अरूलाई सहयोग तथा उद्धार गर्नेसम्मका विषय सिकाइन्छ। प्रशिक्षणमा वातावरण संरक्षण, वृक्षरोपण, आत्मरक्षा, अनुशासन र सामाजिक जिम्मेवारीजस्ता विषयलाई पनि प्राथमिकता दिइएको यादवले बताए। विद्यालयले विद्यार्थीका लागि प्रशिक्षण शुल्कसमेत व्यहोर्दै आएको र नेपाली सेनाबाट अवकाशप्राप्त प्रशिक्षकमार्फत प्रशिक्षण सञ्चालन हुने गरेको उनको भनाइ छ।
कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई प्रशिक्षणमा सहभागी गराइने विद्यालयले जनाएको छ। हरेक वर्ष करिब ४० जना विद्यार्थी छनोट गरी प्रशिक्षण दिने गरिएको छ। विद्यालयका अनुसार विद्यार्थीका अभिभावकसमेत यस्तो प्रशिक्षणप्रति सकारात्मक छन्। ग्रीन आर्मीकी कमान्डर सदिक्षा काकीका अनुसार प्रशिक्षणले विद्यार्थीमा अनुशासनसँगै वातावरण संरक्षण, विद्यालय सुरक्षा र स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान विकास गर्न सहयोग पुर्याएको छ। विद्यार्थीलाई वातावरण संरक्षणमा प्रत्यक्ष सहभागी गराउन विभिन्न अवसरमा वृक्षरोपणलगायतका गतिविधिसमेत सञ्चालन गर्ने गरिएको उनले बताइन्। विद्यार्थी अमन महत्तले वातावरण संरक्षणसँगै विपद्मा परेका व्यक्तिलाई कसरी सुरक्षित राख्ने र आवश्यक पर्दा कसरी उद्धार गर्ने भन्ने विषयमा सिकिरहेको बताए। त्यस्तै, अदिती श्रेष्ठले प्रशिक्षणपछि सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास बढेको अनुभव सुनाइन्।
विद्यार्थी बिबिसा बी.के.ले विशेषगरी छात्राका लागि आत्मरक्षाको सीप महत्वपूर्ण रहेको बताइन्। प्रशिक्षणमार्फत आफूले आत्मरक्षाका विभिन्न उपाय सिकिरहेको उनको भनाइ छ। अर्की विद्यार्थी सोनी याख्खाले भने प्रशिक्षणबाट अनुशासन, समूहमा काम गर्ने तरिका र विद्यालयका विभिन्न गतिविधिमा सक्रिय हुने अवसर मिलेको बताइन्। विद्यालयका संयोजक यादवले ग्रीन आर्मीको प्रशिक्षणले विद्यार्थीमा आत्मविश्वास, आत्मसुरक्षाको भावना र सामाजिक जिम्मेवारी विकास गर्न सहयोग पुगेको दाबी गरे। वातावरण संरक्षण र विपद् व्यवस्थापनजस्ता विषयमा विद्यार्थीलाई सानैदेखि व्यवहारिक ज्ञान दिनुपर्ने भन्दै उनले यस्ता कार्यक्रमलाई सरकारले समेत संरक्षण र प्रोत्साहन गर्नुपर्ने धारणा राखे। यद्यपि, ग्रीन आर्मीको नाम, सैनिक शैलीको पोसाक र गतिविधिलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठिरहेका छन्।
संस्थाले भने आफू कुनै सुरक्षा वा सैन्य संगठन नभएको स्पष्ट पार्दै आएको छ। वातावरण जोगाउने, विपद्का बेला सहयोग गर्ने र युवालाई स्वयंसेवी सेवामा जोड्ने उद्देश्यले अभियान सञ्चालन गरिएको ग्रीन आर्मीको भनाइ छ। विद्यार्थी तहबाटै आत्मरक्षा, अनुशासन, वातावरण संरक्षण र विपद् व्यवस्थापनजस्ता सीप सिकाउने अभ्यासले एकातिर व्यवहारिक ज्ञान विकास गर्न सहयोग पुर्याउने देखिन्छ भने अर्कोतर्फ ‘ग्रीन आर्मी’ नाम, पोसाक र यसको संरचनाबारे उठेका प्रश्नमा सम्बन्धित निकायबाट स्पष्टता आवश्यक देखिन्छ।