काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद रहवर अन्सारीले वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा विद्यार्थी तथा स्वास्थ्य सेवासँग सम्बन्धित विषयमा गम्भीर अनियमितता भइरहेको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै अन्सारीले कलेजमा अध्ययनरत स्नातकोत्तर तहका विद्यार्थी लामो समयदेखि आन्दोलनमा रहेको बताए। उनका अनुसार आन्दोलनमा सहभागी विद्यार्थीलाई छात्रावास खाली गर्न भनिएको, अस्पतालमा काम गर्न रोक लगाइएको र कलेज परिसर प्रवेशमा समेत अवरोध गरिएको छ।सांसद अन्सारीले कलेजमा आवश्यक संख्यामा योग्य जनशक्ति नरहेको र केही शिक्षक तथा प्राध्यापकको विवरणबारे प्रश्न उठाएका छन्। उनले २५ जनाभन्दा बढी ‘फेक फ्याकल्टी’ रहेको दाबी गर्दै यस विषयमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताएका छन्।
उनले चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा समेत कलेज व्यवस्थापनले वास्तविक अवस्थाभन्दा फरक दृश्य देखाउने प्रयास गरेको आरोप लगाए। उनका अनुसार निरीक्षणका बेला अस्पतालको इमर्जेन्सीमा सुरक्षा गार्डलाई बिरामीका रूपमा प्रस्तुत गरिएको थियो।अन्सारीले विद्यार्थीबाट परीक्षा तथा विषय उत्तीर्ण गराउने नाममा अतिरिक्त रकम असुलिएको आरोपसमेत लगाए। उनका अनुसार नेपाली विद्यार्थीबाट एक विषयका लागि ३ लाख रुपैयाँसम्म र विदेशी विद्यार्थीबाट ५ लाख रुपैयाँसम्म रकम लिने गरिएको दाबी छ।
उनले कलेजमा विद्यार्थीको शैक्षिक भविष्यसँग जोडिएका विषयमा गम्भीर प्रश्न उठेकाले सरकार र सम्बन्धित नियामक निकायले तत्काल छानबिन गर्नुपर्ने माग गरे।कलेजमा स्नातकोत्तर तहका आवासीय चिकित्सक र प्रशासनबीच पछिल्लो समय ड्युटी अवधि, स्टाइपेन्ड, छात्रावास, हाजिरीलगायत विषयमा विवाद र आन्दोलन चलिरहेको विभिन्न रिपोर्टहरूले पनि जनाएका छन्।सांसद अन्सारीले सरकारलाई यस विषयमा गम्भीर भएर सत्यतथ्य बाहिर ल्याउन आग्रह गर्दै विद्यार्थीको भविष्य अन्योलमा पर्ने अवस्था आउन नदिन सम्बन्धित निकाय सक्रिय हुनुपर्ने बताएका छन्।