काठमाडौं । स्पेनको उत्तरी क्षेत्रमा बुधबार साँझ दुर्लभ पूर्ण सूर्यग्रहण देखिएको छ। सूर्यग्रहणका क्रममा केही समयका लागि दिन नै अँध्यारो बनेपछि स्थानीय बासिन्दा तथा पर्यटकहरूले विशेष सुरक्षा चस्माको प्रयोग गर्दै उक्त अद्भुत खगोलीय दृश्यको अवलोकन गरेका थिए।
सूर्यग्रहण हेर्न स्पेनका विभिन्न क्षेत्रमा विशेष तयारी गरिएको थियो। सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गर्नुका साथै ग्रामीण क्षेत्रमा अवलोकन केन्द्रसमेत स्थापना गरिएको थियो। मड्रिडको उत्तरमा रहेको ग्रामीण क्षेत्र बुइट्रागो दे लोजोयामा सूर्यग्रहण हेर्न भेला भएका दर्शकहरूले आकाश क्रमशः अँध्यारिँदै जाँदा उत्साह व्यक्त गरेका थिए। क्षितिजमा देखिएको ‘बेलिज बीड्स’ नामक चम्किलो प्रकाशको प्रभाव देखिँदा दर्शकहरूले ताली बजाएर खुसी मनाएका थिए। पूर्ण ग्रहणको अवस्था भने करिब एक मिनेट मात्रै कायम रहेको बताइएको छ। यसअघि आइसल्यान्डमा पनि सूर्यग्रहण देखिएको थियो। राजधानी रेक्याविकमा बाक्लो बादलका कारण ग्रहण प्रत्यक्ष रूपमा स्पष्ट देख्न नसकिए पनि पूर्ण ग्रहणका कारण वातावरणमा परेको अँध्यारो भने महसुस गरिएको थियो। चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आएर सूर्यलाई पूर्ण रूपमा ढाक्दा केही समयका लागि दिनको उज्यालो कम हुने गर्छ।
यस्तो समयमा वातावरणमा अचानक परिवर्तन देखिनुका साथै केही जनावरको व्यवहारमा समेत फरक देखिन सक्ने वैज्ञानिकहरू बताउँछन्। स्पेनका लागि यो सूर्यग्रहण पर्यटन प्रवर्द्धनको अवसरसमेत बनेको थियो। कम चर्चामा रहेका ग्रामीण क्षेत्रलाई विश्वभर चिनाउने उद्देश्यले विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार केही जोडीले सूर्यग्रहणलाई विशेष अवसर बनाएर विवाहसमेत गरेका थिए। यता, सूर्यग्रहणका समयमा स्पेनमा डढेलोको जोखिम पनि उच्च रहेको थियो। दक्षिणी आन्दालुसियासहित विभिन्न क्षेत्रमा डढेलो नियन्त्रणका लागि उद्धार टोली परिचालन भइरहेका बेला ग्रहण अवलोकन गर्न जम्मा हुने भीडबाट सम्भावित जोखिम नहोस् भनेर अधिकारीहरूले विशेष सुरक्षा व्यवस्था मिलाएका थिए।