काठमाडौँ । भारतको हिमाचल प्रदेशको सिरमौर जिल्लाको शिलाई गाउँमा एउटा अनौठो विवाहबारे निकै चर्चा र बहस भइरहेको छ।कुम्हाट गाउँकी सुनिता चौहानले दुई सहोदर दाजुभाइ प्रदीप नेगी र कपिल नेगीसँग एकैसाथ विवाह गरेपछि यसको चर्चा सबैतिर भइरहेको छ ।
विवाह अनुसूचित जनजातिको दर्जा पाएको हाटी समुदायको एउटा प्रचीन बहुपति प्रथाअनुरूप भएको हो। त्यसलाई स्थानीय भाषामा ‘जोडीदारा’ वा ‘जाजडा’ भनिन्छ। यो विवाहमा सयौँ गाउँले तथा आफन्तहरू सहभागी भएका थिए। पारम्पारिक व्यञ्जन, लोकगीत तथा नृत्यले पनि विवाह समारोहलाई स्मरणीय बनाएको थियो।
दुलहाहरू र दुलहीको गाउँ १५ किलोमिटरको दूरीमा छ। उक्त क्षेत्र प्रदेश राजधानी शिमलाबाट करिब १३० किलोमिटरको दुरीमा पर्छ।यस समुदायमा बहुपति प्रथा लामो समयदेखि प्रचलनमा छ। परिवारमा एकता कायम राख्नु र पैतृक सम्पत्तिको भागबन्डा रोक्नु यस्तो विवाहको उद्देश्य भएको बताइन्छ ।
यस प्रथामा एक महिलाले दुई वा धेरै दाजुभाइसँग विवाह गर्छिन् र घरको जिम्मेवारी आपसी सहमतिमा पूरा गर्ने गरिन्छ।स्थानीयहरू जोडीदारा प्रथा उनीहरूको पहिचान भएको बताउँछन् । यो प्रथाले सम्पत्तिको भागबन्डा रोक्न, दाइजो प्रथाबाट जोगिन, दाजुभाइबीच एकता कायम राख्न तथा सन्तानको पालनपोषण गर्न मद्दत गर्ने गरेको उनीहरूको धारणा छ ।
यो विवाहको एउटा पक्ष के पनि हो भने दुलही तथा उनका दुवै पति पढेलेखेका व्यक्ति हुन्। दुलही सुनीता आईटीआई अध्ययन गरेकी हुन्।प्रदीप राज्य सरकारको जलशक्ति विभागमा काम गर्छन् भने कपिल विदेशमा हस्पिटालिटी क्षेत्रमा क्रियाशील छन्।