काठमाडौँ । सरोज अर्याल आफ्नै जन्मदिनको अवसर पारेर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्यसहित अहिले आधार शिविरमा तयारीमा जुटेका छन्। हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका ३० वर्षीय अर्याल आगामी मे १९ मा सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्यका साथ अभ्यास गरिरहेका हुन्।
खुम्बु आइसफलको बाटो खुलेसँगै उनी आरोहणपूर्वको आवश्यक तालिम र तयारीमा व्यस्त छन्। आफ्नै देशको गौरव सगरमाथामा नेपालीभन्दा विदेशी आरोही बढी देखेपछि आफूलाई पनि सगरमाथा चढ्न प्रेरणा मिलेको उनले बताएका छन्। बेसक्याम्पमा पुगेपछि अधिकांश विदेशी आरोही भेटिएको अनुभव सुनाउँदै उनले धेरैसँग सगरमाथा चढ्नुको कारणबारे जिज्ञासा राखेको बताए।
अधिकांशले संसारकै अग्लो स्थानबाट दृश्य अवलोकन गर्ने सपना पूरा गर्न आएको प्रतिक्रिया दिएको उनको भनाइ छ। हालसम्म यात्रा सहज रहे पनि अबको चरण चुनौतीपूर्ण हुनसक्ने भन्दै अर्यालले क्याम्प–वानतर्फको यात्रा कठिन हुने अनुमान गरेका छन्। मौसम र हिमाली जोखिमलाई ध्यानमा राख्दै अहिले आधार शिविरमै आवश्यक तयारी भइरहेको उनले बताए। आगामी मे १९ मा पर्ने आफ्नो जन्मदिनकै दिन सगरमाथाको शिखरमा पुग्ने लक्ष्य रहेको भन्दै उनले यो यात्रा जीवनकै सबैभन्दा स्मरणीय क्षण बन्ने विश्वास व्यक्त गरेका छन्।