काठमाडौँ । दुर्लभ वन्यजन्तु रेडपाण्डा अवलोकन तथा अध्ययनका लागि इलामका उच्च पहाडी क्षेत्रमा पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ। विशेषगरी विदेशी पर्यटकले यसप्रति बढी चासो देखाएका छन्।
सन्दकपुर गाउँपालिकाको दोबाटे क्षेत्र रेडपाण्डा अवलोकनका लागि प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको छ। यहाँ अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, भारत र बंगलादेशलगायत देशका पर्यटक अध्ययन तथा अवलोकनका लागि आउने गरेका छन्। दोबाटे नजिकैको कैयाकट्टा क्षेत्रमा पनि पर्यटकको आगमन बढ्दो रहेको छ। इलामको उत्तरी क्षेत्र, विशेषगरी सिङ्गलिला–कञ्चनजङ्घा क्षेत्रमा रेडपाण्डाको प्राकृतिक बासस्थान रहेको छ। नेपालसहित भारत, भुटान, चीन र म्यानमारमा मात्रै पाइने यस दुर्लभ जनावरलाई अवलोकन गर्न विभिन्न देशका पर्यटक इलाम पुग्ने गरेका पर्यटनकर्मी सुजन तिम्सिनाले जानकारी दिएका छन्।
रेडपाण्डा संरक्षण र पर्यटन प्रवर्द्धनमा रेडपाण्डा नेटवर्क सक्रिय रूपमा लागिरहेको छ। सूर्योदय नगरपालिका, माइजोगमाई र सन्दकपुर गाउँपालिकाका विभिन्न स्थानहरू–जस्तै थुम्के, आहालभञ्ज्याङ, टप्पु, छिन्टापु, दोबाटे, कैयाकट्टा, जौबारी, गैरीबास र चोयाटार–रेडपाण्डा पाइने क्षेत्रका रूपमा चिनिन्छन्। रेडपाण्डा अवलोकनलाई केन्द्रमा राखेर सन्दकपुर गाउँपालिकाले माईपोखरीदेखि जौबारीसम्मको करिब ५२ किलोमिटर लामो पदमार्गलाई ‘रेडपाण्डा ट्रेल’ घोषणा गरी पर्यटन प्रवर्द्धन गर्दै आएको छ। यस क्षेत्रमा रेडपाण्डासँगै विभिन्न प्रजातिका चराचुरुङ्गी, ध्वाँसे चितुवा, चरिबाघ र मुनाललगायत वन्यजन्तुको अवलोकन गर्न सकिने भएकाले विदेशी पर्यटकको आकर्षण झन् बढ्दै गएको छ।