पोखरा – बिहानैदेखि आकाश रोइरहेथ्यो। सायद, केही अनर्थ हुनु थियो। साँच्चीकै बुधबार दिन अनर्थ नै हुनु रहेछ। भएरै छाड्यो।
नियतिको अगाडि कसको के लाग्दो रहे छ र! संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी हामी माँझ रहेनन्। सिंगो देशलाई नै शोकमा डुबाएर उनी सदाका लागि बिदा भए। केबल सम्झना मात्र बाँकी छाडेर गए।
अधिकारीको गृह जिल्ला कास्की पनि यतिबेला शोकमा डुबेको छ। कास्कीबासी एउटा होनहार नेता गुमाउनु पर्दा शोकाकुल भएका छन्। बुवा इन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मीदेवी अधिकारीको त पटक–पटक बेहोस् हुँदै बौरिदै गरिरहेका छन्। आफन्तजनहरु शोकमा डुबेका छन्।
मन्त्री अधिकारीका बुवाआमा बस्दै आएको घर (पोखरा महानगरपालिका–५ मालेपाटन) पुग्दा सबैको आँखामा आँशु टलपलाई रहेको थियो। एकदमै भयावह अवस्था। वाक्य कसैको ओठबाट फुट्न सकिरहेका थिएनन्। केबल आँखा मात्र रसाई रहेथे।
गण्डकी प्रदेशका सांसद राजीव पहारी पनि परिवारलाई संवेदना दिन त्यहाँ थिए। आफ्नो अभिभावक गुमाउनु पर्दा एकदमै दुःख लागेको उनले सुनाए। यो भनि रहँदा उनका आँखा भरिएका थिए। त्योभन्दा बढी बोल्नै सकेनन्।
सबैको गला अवरुद्ध थिए त्यस क्षण। निःशब्द थिए सबै। मन्त्री अधिकारीका छिमेकी सीमा पौडेलले आफ्नै छोरा गुमाएको जस्तै पीडा भएको सुनाइन्। योभन्दा बढी उनी पनि बोल्न सकिनन्। पछ्यौरीले मुख छोपेर भक्कानिइन्।
उपस्थित कसै कसैले उनको व्यक्तित्वको चर्चा गरे। उनको मिलनसार स्वभावको चर्चा गरे। उनको घर हेरे। मन भारी बनाए। फर्किए।
कोहीसँग पीडा व्यक्त गर्ने शब्द थिएन। केबल आँशु बाहेक। बुबा आमालाई बेहोसीमा नै काठमाडौं लैजान निकालियो। बुवाआमालाई एयरपोर्ट लैजान गाडी चढाइरहँदा कसैले भनि रहेथे, ‘कस्केली राजनीतिको सूर्य अस्तायो।’