काठमाडौँ । कतारमा अर्जेन्टिनालाई विश्वकप जिताएपछि धेरैले लिओनल मेसीको विश्वकप यात्रा त्यहीँ टुंगिने अनुमान गरेका थिए। तर उनले त्यस अनुमानलाई गलत सावित गर्दै ३९ वर्षको उमेरमा पनि उत्तर अमेरिकामा सम्पन्न विश्वकपमा अर्जेन्टिनालाई लगातार दोस्रो पटक फाइनलसम्म पुर्याए।
यद्यपि, यसपटक अर्जेन्टिना उपाधि रक्षा गर्न असफल रह्यो। फाइनलमा स्पेनसँग पराजित भएपछि टोली उपविजेतामै सीमित भयो। त्यसका बाबजुद प्रतियोगिताभर मेसीले देखाएको नेतृत्व, अनुभव र उत्कृष्ट प्रदर्शनले उनी पुनः विश्व फुटबलको केन्द्रमा रहे। विश्वकप सकिएसँगै अहिले अर्को रोचक सम्भावनाले चर्चा पाउन थालेको छ। सन् २०३० को विश्वकप हुँदा मेसी ४३ वर्षका हुनेछन्। त्यो उमेरमा उनले विश्वकप खेल्ने सम्भावना न्यून देखिए पनि समर्थकहरूबीच अहिले उनका जेठा छोरा थियागो मेसी बारे उत्सुकता बढ्दो छ।
हाल १३ वर्षीय थियागो सन् २०३० सम्म १८ वर्षका हुनेछन्। आगामी वर्षहरूमा उनले व्यावसायिक फुटबलमा उल्लेखनीय प्रगति गर्न सके अर्जेन्टिनाको राष्ट्रिय टोलीमा स्थान बनाउन सक्ने सम्भावनालाई पूर्ण रूपमा नकार्न सकिँदैन। यदि असाधारण परिस्थितिमा मेसीले पनि अन्तर्राष्ट्रिय फुटबललाई निरन्तरता दिए भने बाबु–छोराले एउटै विश्वकपमा अर्जेन्टिनाको जर्सी लगाएर खेल्ने दुर्लभ इतिहास बन्न सक्छ। यद्यपि, अहिलेका लागि यो सम्भावना कल्पनामै सीमित छ। थियागो अहिले अमेरिकाको इन्टर मियामी क्लबको युवा एकेडेमीमा प्रशिक्षणरत छन्।
उनले क्लबको यू–१४ टोलीबाट खेल्दै उपाधिसमेत जितिसकेका छन्। त्यसैले उनका प्रदर्शनमाथि अर्जेन्टिनी समर्थक र फुटबल विश्लेषकहरूको विशेष ध्यान केन्द्रित हुन थालेको छ। थियागोसँग जन्मका आधारमा स्पेनको राष्ट्रिय टोलीबाट पनि खेल्ने अवसर रहने सम्भावना भए पनि उनले आफ्नो पहिलो रोजाइ अर्जेन्टिना नै रहेको बताउँदै आएका छन्। विभिन्न अन्तर्वार्तामा उनले भविष्यमा अर्जेन्टिनाको जर्सी लगाएर देशको प्रतिनिधित्व गर्ने सपना रहेको उल्लेख गरेका छन्।