काठमाडौँ । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना देखिएको छ।
प्रारम्भिक मौसम विश्लेषणअनुसार मनाङसहित कम्तीमा २९ जिल्ला यसबाट बढी प्रभावित हुन सक्ने अनुमान गरिएको छ।त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलको विश्लेषणअनुसार उक्त प्रणालीको प्रभावले तीनदेखि चार दिनसम्म वर्षा हुन सक्नेछ। यस अवधिमा केही स्थानमा भारी वर्षासमेत हुने सम्भावना रहेको छ।भारतको आन्ध्र प्रदेश आसपास हुँदै नेपालतर्फ अघि बढ्ने प्रणालीको प्रभाव बिहीबार रातिदेखि थप सक्रिय हुन सक्ने अनुमान गरिएको छ।
प्रारम्भिक आकलनअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी देखिन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने तुलनात्मक रूपमा कम प्रभाव पर्ने सम्भावना छ।मौसम प्रणालीको प्रभाव र वर्षाको अवस्थाबारे थप जानकारीका लागि आधिकारिक मौसम पूर्वानुमानलाई ध्यान दिनु आवश्यक छ।