काठमाडौँ । विश्वकै सबभन्दा धेरै सब्स्क्राइबर भएका चर्चित अमेरिकी युट्युबर मिस्टर बिस्ट (जिम्मी डोनाल्डसन) ले विवाह गरेका छन्। उनले आफ्नी लामो समयदेखिकी प्रेमिका थेआ बुइसनसँग लगनगाँठो कसेका हुन्। दक्षिण अफ्रिकी गेमर, लेखिका तथा कन्टेन्ट क्रिएटर रहेकी बुइसन र मिस्टर बिस्टबीच बेलायती भर्जिन टापुस्थित रिचर्ड ब्रान्सनको निजी नेकर आइल्याण्डमा भव्य तर निजी समारोहका बीच विवाह सम्पन्न भएको हो। युट्युबर मिस्टर बिस्टले सामाजिक सञ्जालमार्फत आफ्ना विवाहका तस्बिरहरू सार्वजनिक गर्दै विवाहको औपचारिकता पुष्टि गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार करिब एक सातासम्म चलेको उक्त वैवाहिक समारोहमा दुवै तर्फका परिवार र नजिकका साथीभाइ गरी ७० जना मात्रै सहभागी थिए। आफ्नो व्यावसायिक जीवनलाई सधैँ क्यामेराको अगाडि राख्ने मिस्टर बिस्टले आफ्नो विवाहलाई भने पूर्ण रूपमा निजी र गोप्य राखेका थिए। विवाह समारोहको कुनै पनि दृश्य प्रत्यक्ष प्रसारण गरिएको थिएन भने युट्युब भिडिओका लागि समेत कुनै दृश्य खिचिएको थिएन। समारोहका क्षणहरूलाई कैद गर्नका लागि एक जना व्यावसायिक फोटोग्राफर मात्रै परिचालन गरिएको थियो।
मिस्टर बिस्ट र थेआ बुइसनको पहिलो भेट सन् २०२२ मा दक्षिण अफ्रिकामा भएको थियो। पहिलो भेटपछि सुरु भएको उनीहरूको प्रेम सम्बन्धलाई मिस्टर बिस्टले सन् २०२४ को क्रिसमसका अवसरमा विवाहको प्रस्ताव (प्रपोज) राख्दै नयाँ मोड दिएका थिए। समाजसेवा र फरक शैलीका भिडिओका लागि विश्वभर चर्चित मिस्टर बिस्ट सन् २०२३ को अन्त्यतिर परोपकारी कार्यका क्रममा नेपालसमेत आएका थिए।