काठमाडौँ । विवाहित तथा एकल महिलाको व्यक्तित्व, प्रतिभा र नेतृत्व क्षमता प्रस्तुत गर्ने उद्देश्यले आयोजना हुने मिसेस नेपाल वर्ल्ड २०२६ का लागि आवेदन खुला गरिएको छ।
आयोजक रिबन इन्टरटेनमेन्टले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि औपचारिक रूपमा आवेदन प्रक्रिया सुरु भएको जानकारी दिएको हो। रिबन इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० निशुकान्त झाले प्रतियोगिताको पहिलो चरणको अडिसन साउन २३ गते हुने बताए। अडिसनबाट छनोट भएका प्रतिस्पर्धीले विभिन्न प्रशिक्षण तथा तयारी कार्यक्रम पार गर्दै ग्रान्ड फिनालेसम्मको यात्रा तय गर्नेछन्।
उनका अनुसार प्रतियोगिताको ग्रान्ड फिनाले आगामी कार्तिक १४ गते आयोजना गरिनेछ। झाले प्रतियोगितामा सहभागी हुन उचाइ र तौलको कुनै मापदण्ड नरहेको स्पष्ट पारे। विवाहित महिलासँगै सम्बन्धविच्छेद भएका तथा एकल महिलाले पनि प्रतियोगितामा आवेदन दिन सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए। प्रतियोगिताको आवेदन फाराम खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत भर्न सकिने आयोजकले जनाएको छ। साथै प्रतियोगितामार्फत महिलाको आत्मविश्वास, क्षमता र नेतृत्व विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको आयोजकको भनाइ छ।