काठमाडौँ । अभिनेता विजय बरालको स्वास्थ्यमा सुधार आएपछि चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन पुनः सुरु गरिएको छ। छायांकनका क्रममा घाइते भएपछि केही समय रोकिएको निर्माण कार्य अहिले पुनः नियमित रूपमा भइरहेको निर्माण पक्षले जनाएको छ।
चलचित्रको छायांकनका बेला घोडाबाट लड्दा विजयको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको थियो। उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै उनी पुनः छायांकनमा फर्किएका हुन्। चलचित्रको छायांकन जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिका–स्थित आर्थर डाँडाखर्कमा सुरु भएको थियो। करिब १५ दिनको छायांकनपछि विजय घाइते बनेपछि काम स्थगित गरिएको थियो। निर्देशक सरोज पौडेलका अनुसार करिब दुई साताअघि सोही स्थानबाट पुनः छायांकन सुरु गरिएको हो। निर्देशक सरोज पौडेल, अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइलीले ‘सिन्दुरे जात्रा’ मार्फत दोस्रो पटक सहकार्य गरिरहेका छन्। यसअघि उनीहरू नेपाली चलचित्र इतिहासमा अत्यधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा पनि सँगै काम गरेका थिए। चलचित्र ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।