काठमाडौँ । नेपाली सिने बजारमा सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘रोल नं. १’ ले सफलताको ५१ औँ दिन पूरा गरेको छ। गत जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर देशव्यापी प्रदर्शनमा आएको यस चलचित्रले शनिबार भव्य रूपमा प्रदर्शनको ५१ औँ दिन मनाएको हो।
निर्माण पक्षका अनुसार फिल्मले काठमाडौँ उपत्यकासहित मोफसलका आधा दर्जनभन्दा बढी प्रमुख हलहरूमा एकसाथ यो गौरवमय सफलता हासिल गरेको छ। काठमाडौँ उपत्यकाका कीर्तिपुर सिनेप्लेक्स (कीर्तिपुर) र शुभकामना सिनेमा (बनेपा) एसटीएस इन्टरटेन्मेन्ट (धनगढी), इलाइट सिनेमा (इटहरी), कावासोती सिनेमा (कावासोती), विराट सिनेमा (विराटचोक) र फ्रेन्ड्स सिनेमा (इलाम) सहित देशका विभिन्न हलहरुमा ५१ औ दिनमा प्रवेश गरेको छ ।
चलचित्र विकास बोर्डको आधिकारिक बक्स अफिस डाटा अनुसार ‘रोल नं. १’ ले गत आइतबारसम्ममा १ करोड ७७ लाख रूपैयाँ ग्रस कलेक्सन गरिसकेको छ। हप्ताभरिको नयाँ एकमुष्ट व्यावसायिक विवरण भने सोमबार बोर्डले सार्वजनिक गर्ने तयारी गरेको छ। पछिल्लो साताको दर्शक चाप हेर्दा फिल्मको कुल कमाइले २ करोडको आँकडा छिट्टै छुने प्रक्षेपण गरिएको छ।
चलचित्रले दोस्रो सातापछि पनि दर्शकलाई हलसम्म आकर्षित गरिरहन असारको पहिलो सातादेखि टिकट मूल्यमा ५० प्रतिशत छुट को विशेष अफर ल्याएको थियो। हाल देशभरका सबै प्रदर्शनरत हलका प्रत्येक शोमा दर्शकहरूले आधा मूल्यमा नै यो चलचित्र हेरिरहेका छन्।
निर्माता विनोद पौडेलको भनाइः “चलचित्रको विषयवस्तु शिक्षा र विद्यार्थीको मनोविज्ञानसँग जोडिएकाले धेरै विद्यार्थी र अभिभावकहरूबाट टिकटको मूल्य अलि सर्वसुलभ गराइदिन सुझाव आएको थियो। सोही सुझावलाई मानेर गरिएको छुटको निर्णयले विशेषगरी पारिवारिक दर्शक र विद्यार्थीहरूलाई हलसम्म तान्न गेम–चेन्जरको भूमिका खेल्यो।“
‘सेभेन सिज सिनेमा’ को ब्यानरमा निर्माण भएको यस चलचित्रलाई युवा निर्देशक जोन योञ्जनले निर्देशन गरेका हुन्। शिक्षा प्रणाली र सामाजिक यथार्थको सेरोफेरोमा घुमेको यस फिल्ममा अभिनेता मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, निर्भिक रेग्मी र रिन्चेन लामा लगायतका कलाकारहरूको जीवन्त अभिनय रहेको छ।