काठमाडौँ । उडान स्टुडियोको लगानीमा निर्माण हुन लागेको नेपाली सामाजिक ड्रामा चलचित्र ‘आशा’ को छायांकनसुरु भएको छ । निर्माण पक्षले एक महिनाको विस्तृत निर्माण तालिका तय गर्दै फिल्मलाई फ्लोरमा उतारेको हो। फिल्मको पहिलो दिनको छायांकन काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा भव्यताका साथ सम्पन्न गरिएको छ।
पारिवारिक सम्बन्ध र भावनाको कथा समेटिएको यो चलचित्रको केही दिन उपत्यकामा छायांकन भएपछि बाँकी महत्त्वपूर्ण दृश्यहरू काभ्रेपलाञ्चोकको धार्मिक तथा पर्यटकीय क्षेत्र नमोबुद्ध र धुलिखेल आसपासमा खिचिने निर्मात्री शर्मिला थापाले जानकारी दिईन् ।
चलचित्रको छायांकनको पहिलो दिन अनुभवी अभिनेता शुशांक मैनालीका साथमा बालकलाकार द्वय चिराग श्रेष्ठ र काश्वी भण्डारीले क्यामेराको अगाडि आफ्नो पहिलो सट दिएका छन्। फिल्ममा शुशांकको साथमा नेपाली सिने जगत्का सशक्त र स्थापित कलाकारहरूको बलियो लाइनअप रहेको छ। चलचित्रमा महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह र कविता रेग्मी लगायतको मुख्य अभिनय रहने घोषणा यसअघि नै भइसकेको छ।
यस चलचित्रलाई निर्देशक राजीव गुरुङले निर्देशन गरिरहेका छन् । निर्देशनसँगै चलचित्रको कथा समेत आफैँले लेखेका गुरुङले ‘आशा’ केवल व्यावसायिक मनोरञ्जन मात्र नभएर दर्शकका लागि एउटा गम्भीर र महत्त्वपूर्ण सन्देश बोकेको सिनेमा हुने दाबी गरेका छन् ।
“हामीले यो फिल्मलाई निकै मिहिनेतका साथ, मनैदेखि तयार गर्न लागेका छौँ, जसले हरेक नेपाली परिवारको आन्तरिक कथा र भावनालाई पर्दामा ज्युँदो रूपमा प्रस्तुत गर्नेछ,“ निर्देशक गुरुङले बताए ।