काठमाडौँ । अभिनेत्री मनिषा कोइराला र बलिउड सुपरस्टार अनिल कपूरद्वारा अभिनित बहुचर्चित एवं ऐतिहासिक चलचित्र ‘१९४२ः अ लभ स्टोरी’ प्रदर्शनको ३२ वर्ष पूरा भएको अवसरमा पुनः सिनेमाघरमा आउने भएको छ। निर्माण पक्षले यस ओस्कार–स्तरको क्लासिक फिल्मलाई अत्याधुनिक प्रविधिको प्रयोग गरी पुनः प्रदर्शन गर्ने औपचारिक घोषणा गरेको हो। पुरानो नेगेटिभलाई नष्ट हुनबाट जोगाएर नयाँ पुस्ताका लागिसमेत ठुलो पर्दामा हेर्न योग्य बनाउन यो विशेष कदम चालिएको हो।
यसपटक दर्शकले यो चलचित्रलाई नितान्त नयाँ र अद्भूत दृश्यानुभूतिसहित हेर्न पाउनेछन्। चलचित्रलाई ८के (८प्) डिजिटल प्रविधिमा फ्रेम–बाई–फ्रेम रिस्टोर गरिएको छ। यसका साथै, चलचित्रको पाश्र्व ध्वनि र कालजयी गीतहरूलाई आधुनिक मल्टिप्लेक्स सुहाउँदो डोल्बी ५.१ मा रिमास्टर गरिएको छ। यसको भिजुअल परिमार्जन इटालीको प्रसिद्ध ’एल इमाजिने रितोभाता, बोलोन्या’ र चेन्नईको प्रतिष्ठित ‘प्रसाद फिल्म ल्याब’ ले महिनौँको मिहिनेतपछि तयार पारेका हुन्।
३२ वर्षपछि आफ्नो करियरकै एउटा उत्कृष्ट चलचित्र पुनः हलमा लाग्ने भएपछि अभिनेत्री मनिषा कोइरालाले सामाजिक सञ्जालमार्फत खुसी र भावुकता व्यक्त गरेकी छन्। उनले लेखेकी छन्, “प्रेम, आशा, त्याग र देशभक्तिको यो कालजयी कथा आज पनि पुस्तौँपुस्तासम्म जीवित रहेको देख्दा खुसी लाग्छ। ८के रिस्टोरेसन र डोल्बी ५.१ ध्वनिसहित फिल्मलाई नयाँ जीवन दिइएको देख्दा म भावुक भएकी छु। नयाँ पुस्ताले पनि यसलाई ठुलो पर्दामै, वास्तविक अनुभवसहित हेर्न पाउनेछन्।”
त्यस्तै, अभिनेता अनिल कपूरले पनि दुर्लभ बिहाइन्ड–द–सिन्स (द्यत्क्) तस्बिरहरू सेयर गर्दै ३२ वर्षपछि पनि यो चलचित्र आफ्नो मुटुको निकै नजिक रहेको र यसलाई बक्स अफिसमा पुनः हेर्न उत्सुक रहेको बताएका छन्।
विदु विनोद चोपडाको निर्देशन र निर्माणमा सन् १९९४ मा प्रदर्शनमा आएको यो चलचित्र भारतीय स्वतन्त्रता आन्दोलन (सन् १९४२ को भारत छोडो आन्दोलन) को पृष्ठभूमिमा बुनिएको उत्कृष्ट प्रेमकथा हो। चलचित्रमा मनिषा कोइराला (राज्जो) र अनिल कपूर (नरेन) का साथै ज्याकी श्राफ, अनुपम खेर र ड्यानी डेन्जोङ्पाको शक्तिशाली अभिनय रहेको छ।
यो चलचित्र महान् सङ्गीतकार आर.डी. बर्मन (पञ्चम दा) को अन्तिम साङ्गीतिक एल्बमका रूपमा पनि चर्चित छ। जावेद अख्तरको शब्द र आर.डी. बर्मनको धुनमा सजिएका ’एक लड्की को देखा तो ऐसा लगा’, ’कुछ ना कहो’ र ’प्यार हुआ चुपके से’ जस्ता गीतहरू आज पनि उत्तिकै सदाबहार र लोकप्रिय छन्।
निर्माण पक्षले ८के संस्करणको डिजिटल प्रदर्शनको मिति चाँडै नै विशेष टिजरमार्फत सार्वजनिक गर्ने जनाएको छ।