काठमाडौँ । निर्माता जनक घर्ती मगरले नयाँ नेपाली चलचित्र आकाश वर्षा निर्माण गर्ने घोषणा गरेका छन्। टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै उनले आफ्नो आगामी परियोजनाबारे औपचारिक जानकारी दिएका हुन्। ‘मितज्यू’ प्रदर्शनमा आएको केही समयमै उनले अर्को चलचित्रको घोषणा गरेका हुन्।
जीएम मुभी प्रोडक्सनको प्रस्तुति रहने यस चलचित्रको निर्देशन सुदीप भजुले गर्नेछन्। सार्वजनिक पोस्टरमा बादलमुनि सिमसिम पानी परिरहेको दृश्यसँगै पृष्ठभूमिमा पहाडी भू–दृश्य देखाइएको छ, जसले मानवीय जीवनका संघर्ष, पीडा, आशा र खुसीका भावलाई संकेत गर्ने प्रयास गरेको देखिन्छ। निर्माण टिमले हालसम्म चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिक टोलीबारे कुनै जानकारी सार्वजनिक गरेको छैन। पछिल्ला वर्षहरूमा प्रेमकथामा आधारित नेपाली चलचित्र कम निर्माण भइरहेका बेला ‘आकाश वर्षा’ सोही विधामा बन्न लागेको जनाइएको छ। यसअघि निर्माता जनकले सामाजिक विषयवस्तुमा आधारित ‘घरज्वाइँ’ र ‘मितज्यू’ निर्माण गरेका थिए। चलचित्रको कथा जनक घर्ती मगरकै परिकल्पनामा आधारित रहेको छ भने पटकथा तथा लेखनको जिम्मेवारी अमीर मगरले सम्हालेका छन्। देशभर चलचित्रको वितरण रोहित कट्टेल र रत्न श्रेष्ठ नेतृत्वको आरआर फिल्म्सले गर्नेछ।