काठमाडौँ ।आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘गौँथली’ को काठमाडौँमा भव्य प्रिमियर सम्पन्न भएको छ। प्रिमियरमा सहभागी कलाकार, निर्देशक, सञ्चारकर्मी तथा अन्य आमन्त्रित अतिथिले फिल्मको कथा, अभिनय, निर्देशन र प्राविधिक पक्षको खुलेर प्रशंसा गरेका छन्।
करिब २५ वर्षअघि डा। भोला रिजालले निर्माण गरेको गीतिकथानक ‘गौँथली’लाई यसपटक संवादसहित नयाँ स्वरूपमा निर्देशक डा. कपिल रिजालले दर्शकमाझ ल्याएका हुन्। फिल्म हेरेपछि अभिनेत्री सञ्चिता लुइँटेलले कलाकारहरूको अभिनय निकै प्रभावशाली रहेको प्रतिक्रिया दिइन्। उनका अनुसार फिल्मले दर्शकलाई भावनात्मक रूपमा बाँधेर राख्ने क्षमता राख्छ। विशेषगरी अरुण क्षेत्री र सिम्रन खड्काको अभिनय उल्लेखनीय रहेको भन्दै उनले परिवारसहित हलमै पुगेर फिल्म हेर्न आग्रह गरिन्।
वरिष्ठ कलाकार किरण केसीले पनि फिल्मका कुनै एक पक्षभन्दा सम्पूर्ण टिमको मेहनत प्रशंसायोग्य रहेको बताए। नेपाली समाज र परिवेशलाई जीवन्त रूपमा पर्दामा उतारिएको उनको भनाइ थियो। निर्देशक ओम प्रतीकले फिल्मको कथा, पटकथा, संवाद, निर्देशन र कलाकारको अभिनय सबै पक्ष सशक्त रहेको प्रतिक्रिया दिए भने निर्देशक मिलन चाम्सले बेलायतमा चिकित्सकका रूपमा व्यस्त रहँदासमेत निर्देशक डा। कपिल रिजालले नेपाली कला, संस्कृति र मौलिक कथालाई फिल्ममार्फत प्रस्तुत गरेको कार्य प्रशंसनीय भएको बताए।
सञ्चारकर्मी प्रकाश सुवेदीले पनि फिल्मलाई सबै पक्षबाट सन्तुलित र परिपक्व रहेको टिप्पणी गर्दै निर्माण टिमले इमान्दारीपूर्वक काम गरेको बताए।प्रिमियरपछि निर्देशक डा. कपिल रिजालले फिल्मकर्मीबाट प्राप्त सकारात्मक प्रतिक्रियाले थप उत्साहित बनाएको बताए। गीतिकथानकका रूपमा लोकप्रिय बनेको पुरानो ‘गौँथली’लाई नयाँ प्रस्तुति र संवादसहित पुनःनिर्माण गर्नु चुनौतीपूर्ण भए पनि त्यसका लागि निकै मेहनत गरिएको उनले बताए। मुख्य अभिनेता अरुण क्षेत्रीले आफूले निर्वाह गरेको ‘ठुले’ पात्रलाई न्याय गर्न सक्दो प्रयास गरेको उल्लेख गर्दै प्रिमियरमा प्राप्त प्रतिक्रियाले आफ्नो मेहनत सफल भएको महसुस गराएको बताए। निर्माता सुमन गिरीले पनि पहिलो प्रदर्शनमै फिल्मले राम्रो प्रतिक्रिया पाएकाले उत्साह थपिएको बताए।
फिल्मको कथा एसएलसी अध्ययन गर्ने सपना बोकेकी एक किशोरीको जीवन, बालविवाह र त्यसपछिका संघर्षसँग जोडिएको छ। यसका साथै ‘अटिजम’ भएका व्यक्तिको जीवनशैली र उनीहरूप्रति समाजमा रहेका भ्रमलाई पनि फिल्मले संवेदनशील ढंगले प्रस्तुत गरेको निर्देशकको भनाइ छ। अभिनेता अरुण क्षेत्रीले अटिजम भएका व्यक्तिको भूमिका निर्वाह गर्न वास्तविक व्यक्तिहरूसँग समय बिताउनुका साथै उनीहरूको जीवनशैलीबारे अध्ययन गरेको बताए। समाजमा उनीहरूप्रति हुने व्यवहार र गलत बुझाइलाई फिल्मले सकारात्मक सन्देशमार्फत प्रस्तुत गर्ने विश्वास उनले व्यक्त गरे।
ग्रामीण परिवेशमा आधारित फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ। डा.भोला रिजालको कथामा आधारित फिल्मको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका हुन्। रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्ने ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।