काठमाडौँ । दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ। काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएकी निरौलाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको छ।
पारिवारिक स्रोत र उनका निकटतम व्यावसायिक साझेदार एवं अभिनेता बिशाल भण्डारीका अनुसार गत मंगलबार नै उनको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो।
नयाँ चलचित्रको छायाङ्कन (सुटिङ) मा व्यस्त रहेकै बेला करिब डेढ हप्ता अगाडि दीपाश्रीले ढाड दुखाइ र केही स्वास्थ्य जटिलताको सिकायत गरेकी थिइन्। त्यसपछि अस्पताल पुगेर चिकित्सकहरूले विस्तृत स्वास्थ्य परीक्षण (होल बडी चेकअप र एमआरआई) गर्दा उनको मस्तिष्कमा ट्युमर पलाएको पत्ता लागेको थियो।
ट्युमर देखिएपछि धेरैले भारत लगेर उपचार गर्न सल्लाह दिए पनि नेपालकै स्वास्थ्य संयन्त्रमाथि भरोसा गर्दै अन्नपूर्ण न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्त र उनको टिममार्फत शल्यक्रिया गराउने निर्णय गरिएको थियो। शल्यक्रियाका क्रममा मस्तिष्कबाट निकालिएको ट्युमरको प्रकृति बुझ्नका लागि बायोप्सी परीक्षण गर्न प्रयोगशाला पठाइएको छ, जसको रिपोर्ट आउन बाँकी छ।
शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा द्रुत गतिमा सुधार आइरहेको छ। उनलाई सघन उपचार कक्ष (आईसीयू) बाट जनरल वार्डमा सारिसकिएको र स्वास्थ्यलाभ गरिरहेको अस्पताल प्रशासनले जनाएको छ।