काठमाडौँ । आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित चलचित्र ‘गौँथली’ ले काठमाडौँमा बिल्कुलै फरक र भुइँमान्छेको प्रचार शैली अपनाएको छ। शनिबार काठमाडौँ र ललितपुरका व्यस्त सडक एवं पर्यटकीय क्षेत्रमा एउटा रोचक दृश्य देखियो। चलचित्रकी मुख्य अभिनेत्री सिम्रन खड्का मौलिक नेपाली पहिरन चौबन्दी चोलो, फरिया र पीठ्युँमा डोको बोकेर सडकमा निस्किएकी थिइन्।
चलचित्रको मूल कथा र आफ्नो ग्रामीण पात्र (गौँथली) सँग दर्शकलाई प्रत्यक्ष जोड्न निर्माण टिमले यो नौलो उपाय निकालेको हो। काठमाडौँको ऐतिहासिक वसन्तपुर दरबार क्षेत्र र ललितपुरको पाटन दरबार स्क्वायरमा डोकोमा घाँस बोकेर पुगेकी सिम्रनलाई हेर्ने र उनीसँग फोटो खिच्नेहरूको भीड लागेको थियो।
सो क्रममा अभिनेत्री सिम्रनले करिब दुई हजारभन्दा बढी दर्शकसँग प्रत्यक्ष संवाद गर्दै चलचित्रको सारसंक्षेप र जानकारी समेटिएको ब्रोसर बाँडिन् र हलसम्म आएर फिल्म हेर्न निम्तो दिइन्। उनको यो अर्गानिक हुलिया र सादगी देखेर रैथाने दर्शक मात्र होइन, नेपाल घुम्न आएका विदेशी पर्यटकहरूसमेत आकर्षित भएर तस्बिर खिचिरहेका देखिन्थे।
यो फरक अनुभवपछि अभिनेत्री सिम्रन निकै उत्साहित देखिएकी छन्। आफ्ना कुरा राख्दै उनले भनिन्, “हामीले परम्परागत शैलीभन्दा फरक तरिकाले सिधै दर्शकमाझ पुग्ने प्रयास ग¥यौँ। म आफैँलाई पनि यो प्रचार शैलीले एउटा फरक र रमाइलो अनुभव दियो। भेटिएका धेरै दर्शकले हाम्रा अन्तर्वार्ता र ट्रेलर हेरेर फिल्म हेर्ने मनसाय बनाइसकेको सुनाउनुभयो।”
केही दर्शकले ठट्टा गर्दै ‘हामी त यो फिल्म हलमा लागिसक्यो भनेर हेर्न गएका थियौँ, तर लागेकै रहेनछ’ भन्दै फिल्मप्रतिको कौतुहलता र पर्खाइ व्यक्त गरेको सिम्रनले बताइन्।
वरिष्ठ चिकित्सक तथा साहित्यकार डा. भोला रिजालको कथामा आधारित र डा. कपिल रिजालको निर्देशनमा तयार भएको ‘गौँथली’ ले बालविवाह, ग्रामीण परिवेशमा महिलाको शिक्षाको संघर्ष र सामाजिक उतारचढावको कथा बोकेको छ। सुमन गिरी र डा. कपिल रिजालले संयुक्त रूपमा निर्माण गरेको यस चलचित्रमा सिम्रन खड्काका साथै अरुण क्षेत्री, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, सीतादेवी तिमिल्सिना, लुनिभा तुलाधर, रवीन्द्र झा लगायतका स्थापित कलाकारहरूको सशक्त अभिनय हेर्न पाइनेछ।
मौलिक प्रचार र बलियो सामाजिक कथावस्तुका कारण ‘गौँथली’ ले साउनको सुरुवातमै हलहरूमा बलियो उपस्थिति जनाउने सङ्केत गरेको छ।