काठमाडौँ । सरकारले कैलालीको गेटास्थित गेटा अस्पताललाई सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल (टीचिङ हस्पिटल) को रूपमा सञ्चालन गर्न औपचारिक स्वीकृति प्रदान गरेको छ।
बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रमा महत्त्वपूर्ण मानिएको गेटा अस्पताललाई उक्त विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले गेटालाई शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा अगाडि बढाउने स्वीकृति दिने निर्णय भएको आधिकारिक जानकारी दिए ।
लामो समयदेखि गेटामा निर्मित अर्बौँका भौतिक संरचनाहरूलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन कानुनी र प्रशासनिक अन्योल कायम रहेको अवस्थामा सरकारको यो पछिल्लो निर्णयले सुदूरपश्चिममा चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा सुरु हुने बाटो खुला गरेको छ।
यो निर्णयसँगै अब गेटा अस्पतालमा चिकित्सा शास्त्र लगायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न र सुदूरपश्चिमका नागरिकलाई आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न थप सहज हुने विश्वास लिइएको छ।