काठमाडौँ । काठमाडौँको नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को फार्मेसी शाखामा ठूलो परिमाणमा औषधि घोटाला भएको पुष्टि गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। औषधि आपूर्तिकर्ताहरूसँगको मिलेमतोमा अस्पतालमा औषधि नै आपूर्ति नगरी बिल भर्पाइ मात्र सफ्टवेयरमा प्रविष्टि (एन्ट्री) गरेर करोडौँ रकम हिनामिना गरेको उजुरीका आधारमा अख्तियारले विस्तृत अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा अस्पतालको स्टोर शाखा र भ¥याङमुनि करोडौँ मूल्य बराबरका औषधिहरू म्याद गुज्रेर (एक्सपायर्ड) फालिएको अवस्थामा फेला परेका थिए। कम्प्युटर प्रणालीमा मौज्दात (स्टक) देखाइएका कतिपय औषधिहरू यथार्थमा अस्पतालको भण्डारमा नरहेको अनुसन्धानबाट खुलेको छ।
अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ को प्रावधान अनुसार प्रत्येक आर्थिक वर्षको अन्त्यमा खरिद, बिक्री र बाँकी औषधिको सन्तुलन परीक्षण (ट्रायल ब्यालेन्स) तयार गर्नुपर्ने कानुनी बाध्यता भए पनि जिम्मेवार अधिकारीहरूले सो नगरेको महालेखा परीक्षकको आव २०७७÷७८ को प्रतिवेदनले समेत पुष्टि गरेका अख्तियारको आरोपपत्रमा उल्लेख गरेको छ ।
आपूर्तिकर्ता कम्पनीहरूसँग भएको सम्झौता अनुसार ४ महिना मात्र म्याद बाँकी भएका तथा बिक्री नभएका औषधिहरू फिर्ता गरी सोधभर्ना लिनुपर्नेमा कार्यकारी निर्देशकको निर्देशनलाई समेत फर्मेसी शाखाले लत्याएको देखिएको छ। अझ गम्भीर कुरा, म्याद सकिएका औषधिहरू स्टोरमै रहँदा–रहँदै पनि आपूर्तिकर्ता फर्महरूको धरौटी रकम फिर्ता गरिदिन फर्मेसी शाखाका कर्मचारीहरूले “फिर्ता गर्नुपर्ने कुनै औषधि बाँकी नरहेको“ भनी बदनियतपूर्वक लिखित राय दिएर राज्य कोषलाई हानि पु¥याएको अख्तियारको दाबी छ।
अस्पतालको मेडिकल डिभिजन प्रमुख नेतृत्वको समितिले गरेको विस्तृत विश्लेषण अनुसार कुल २ करोड ९१ लाख ३४ हजार ५ सय सड्चालीस रुपैयाँ सैतीस पैसा बराबरको सार्वजनिक सम्पत्ति हानि–नोक्सानी भएको ठहर गरिएको छ।
अख्तियारले जनही २ करोड ९१ लाख ३४ हजार ५ सय सड्चालीस रुपैयाँ सैतीस पैसा नै बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा कैद, बिगो बमोजिम जरिवाना र बिगो असुल उपरको मागदाबीसहित ८ कर्मचारीविरुद्ध आरोपपत्र दायर गरेको छ । अख्तियारले फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दिपा ढुङ्गाना, फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी सहायक लवेन्द्र कुँवर, फार्मेसी युनिट इन्चार्ज तथा वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी सहायक दिपक सापकोटा, फार्मेसी युनिट स्टोर किपर तथा वरिष्ठ फार्मेसी सहायक विनोद पोखरेल, फार्मेसी युनिट स्टोरकिपर तथा वरिष्ठ फार्मेसी सहायक शर्मीला श्रेष्ठ, फार्मेसी युनिट स्टोरकिपर तथा फार्मेसी सहायक केशव राज न्यौपाने र फार्मेसी युनिट स्टोर किपर तथा फार्मेसी सहायक सन्दिप तिवारी विरुद्ध मुद्धा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सार्वजनिक स्वास्थ्य संस्थाको सम्पत्ति र ओहोदाको दुरुपयोग गर्ने यी कर्मचारीहरूमाथि कडा कानुनी कारबाहीका लागि विशेष अदालतमा दर्ता गरिएको मुद्दामाथि अब न्यायिक सुनुवाइ अगाडि बढ्नेछ।