काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सिरहा, सब–डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौँ) राम केवल राय यादवलाई घुस रकम र स्रोत नखुलेको थप नगदसहित रंगेहात नियन्त्रणमा लिएको छ। अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई मंगलबार (असार २३ गते) सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ४ स्थित मिर्चैयाबाट बन्दीपुर जाने महेन्द्र राजमार्गबाट नियन्त्रणमा लिएको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार एक उद्योगका लागि ल्याइएको काठहरू सिलबन्दी अनुसार भए वा नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने प्रक्रियामा वन अधिकृत यादवले सेवाग्राहीलाई दुःख हैरानी दिएका थिए। फाइल अगाडि बढाउने बहानामा उनले सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको भनी अख्तियारमा उजुरी परेको थियो।
उजुरी र सूचनाका आधारमा मालजालसहित निगरानीमा राखेको अख्तियारको टोलीले अधिकृत यादवलाई सेवाग्राहीबाट रु. १२,०००।– (बाह्र हजार रुपैयाँ) घुस लिइसकेको अवस्थामा फेला पारेको थियो।
खानतलासी गर्दा उनको साथबाट घुसको रकमका अतिरिक्त वैधानिक स्रोत नखुलेको १ लाख ३३ हजार १ सय बीस रुपैयाँ समेत फेला परेको छ। अख्तियारले घुस र स्रोत नखुलेको रकम गरी १ लाख ४५ हजार एक सय बीस रुपैयाँ र एक थान मोबाइलसहित उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका वन अधिकृत यादवलाई हिरासतमा राखी भ्रष्टाचार निवारण ऐनअनुसार थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ।