काठमाडौँ। चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो नौ महिनामा ४५ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ। गत वर्षको आन्दोलनबाट प्रभावित भए पनि कम्पनीले व्यवसायलाई पुनः लयमा फर्काउने प्रयास जारी राखेको देखिएको छ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण कम्पनीको केबलकार तथा अन्य भौतिक संरचनामा क्षति पुगेको थियो। त्यसको असरस्वरूप करिब तीन महिनासम्म केबलकार सेवा पूर्ण रूपमा बन्द हुँदा कम्पनीको आम्दानीमा उल्लेखनीय प्रभाव परेको थियो। यसअघि कम्पनीले आर्थिक वर्ष २०८०–८१ मा एक अर्ब रुपैयाँ तथा २०८१–८२ मा ९० करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो। पुनर्निर्माणमा लागेको समय र व्यवसायमा आएको अवरोधका कारण चालु आर्थिक वर्षको पहिलो नौ महिनामा कम्पनी ९० लाख रुपैयाँ खुद नोक्सानीमा पुगेको छ। अघिल्लो आर्थिक वर्षमा भने कम्पनीले १८ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
केबलकार सेवा अवरुद्ध हुँदा कम्पनीको रिसोर्ट व्यवसाय पनि प्रभावित बनेको छ। रिसोर्टको कोठा उपयोग दर (अकुपेन्सी) गत वर्षको ३६ प्रतिशतबाट घटेर यस अवधिमा २२ प्रतिशतमा सीमित भएको छ। यसबीच, कम्पनीको वित्तीय अवस्थाको समीक्षा गर्दै इक्रा नेपालले चन्द्रागिरी हिल्सको जारीकर्ता रेटिङ ‘आईसीआरएएनपी–आईआर बीबी प्लस’मै कायम राखेको छ। साथै, यसअघि नकारात्मक प्रभावसहित निगरानीमा राखिएको सूचीबाट पनि कम्पनीलाई हटाइएको छ। इक्रा नेपालका अनुसार केबलकार सेवा पुनः सञ्चालनमा आउनु र ऋण व्यवस्थापनमा भएको प्रगतिले कम्पनीको वित्तीय जोखिम घटाएको छ। हाल कम्पनीको दीर्घकालीन ऋण सीमा २ अर्ब ४ करोड ४० लाख रुपैयाँ निर्धारण गरिएको छ।
ऋणको भार कम गर्दै वित्तीय अवस्था थप मजबुत बनाउन कम्पनीले शतप्रतिशत ९१ः१० हकप्रद शेयर जारी गर्ने योजना अघि बढाएको छ। उक्त हकप्रदबाट प्राप्त हुने अधिकांश रकम बैंक ऋण तिर्न प्रयोग गरिने कम्पनीको तयारी छ। सन् २००९ मा स्थापना भएको चन्द्रागिरी हिल्समा आईएमई समूहको प्रमुख लगानी रहेको छ। कम्पनीका सबैभन्दा ठूलो सेयरधनी हेमराज ढकाल हुन्, जसको १९।२ प्रतिशत स्वामित्व रहेको छ। चन्द्रप्रसाद ढकाल, उत्तमकुमार नेपाल, अम्बिका प्रसाद पौडेल तथा भाटभटेनी सुपरमार्केट पनि प्रमुख लगानीकर्तामा पर्छन्। पछिल्ला वर्षहरूमा कम्पनीले केबलकार सेवासँगै रिसोर्ट र साहसिक पर्यटनका गतिविधि विस्तार गर्दै आफ्नो व्यवसायलाई थप विविधीकरण गर्ने रणनीति अवलम्बन गरेको छ।