बेनी । म्याग्दीको धौलागिरी गाउँपालिका–७ फेदीखोला स्थित सडकखण्डमा दुई वटा बोलेरो जिप एकापसमा जुधेर दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्। मंगलबार दिउँसोे ताकमबाट दरबाङतर्फ आउँदै गरेको बा ७७९५ नम्बरको बोलेरो जिप घुम्तीमा अनियन्त्रित भई पल्टिएर तल सडकको अगाडिबाट आउँदै गरेको ग३च ३३१४ नम्बरको यात्रुबाहक बोलेरो जिपमाथि खस्न पुग्दा यो अनौठो र दुःखद दुर्घटना भएको हो। दुवै जिपमा गरी जम्मा १० जना सवार रहेकोमा एक जना यात्रु भने सकुशल रहन सफल भएका छन्।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको विशेष टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले स्थानीयवासीको सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि दरबाङ आधारभूत अस्पताल, दरबाङ पठाएको छ। दुर्घटनामा परि घाइते भएका ९ जनामध्ये एक चालकको अवस्था गम्भीर, ७ जनाको मध्यम र १ जनाको अवस्था सामान्य रहेको छ। घाइते हुनेहरुमा ग३च ३३१४ नम्बरको बोलेरोका चालक अनिल नेपाली गम्भीर घाईते भएका प्रहररुीले जनाएको छ ।
त्यस्तै, जिल्ला म्याग्दी, धौलागिरी गाउँपालिका–३ मुना बस्ने २७ वर्षीय ७७९५ नम्बरको बोलेरो जिपका चालक धुर्व पुन, जिल्ला म्याग्दी, धौलागिरी गाउँपालिका–७ बस्ने १७ वर्षीया रबिना सिर्पाली र सोही स्थानका सुनबिर रसाइली, ख्याउटी रसाइली, धना कुमारी सुनार, दलबहादुर, कल्पना सुनार मध्यम घाईते भएका र रोल्पा, खवाङ गाउँपालिका–५ भिमसेन पुन सामान्य घाइते भएका प्रहरीले जानकारी दिएका छन् ।
हाल दुर्घटनाग्रस्त दुवै सवारीसाधन फेदीखोलाको घटनास्थलमै रहेका छन्। भीर र साँघुरो घुम्तीका कारण माथिल्लो सडकबाट जिप खसेको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे प्रहरीले आवश्यक कानूनी प्रक्रियाका साथै थप अनुसन्धान गरिरहेको जनाएको छ।