काठमाडौँ। स्वतन्त्र चालक फाउण्डेशन नेपालले राइडरहरूमा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको अभियानलाई निरन्तरता दिएको छ। ‘सुरक्षा हाम्रो जिम्मेवारी, सेवा हाम्रो पहिचान’ भन्ने नारासहित मंगलबार काठमाडौंको बालाजु बसपार्क क्षेत्रमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो।
ट्राफिक प्रहरीसँगको सहकार्यमा आयोजित कार्यक्रममा राइडरहरूलाई ट्राफिक नियमको पालना, हेल्मेटको अनिवार्य प्रयोग, अफलाइन राइड सेयर नगर्न, पहिचान खुल्ने पोसाक लगाउन तथा जिम्मेवार ढंगले सवारी सञ्चालन गर्न आग्रह गरिएको थियो। कार्यक्रममा बोल्दै स्वतन्त्र चालक फाउण्डेशन नेपालकी अध्यक्ष रेश्मा बिसुन्केले २०८१ सालमा स्थापना भएको संस्थाले देशभरका राइडरहरूको हकहितका लागि काम गर्दै आएको बताइन्। उनले ट्राफिक नियम उल्लंघन गरेर ट्राफिक प्रहरीलाई मात्र दोष दिने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिइन्।
उनका अनुसार राइडरहरूले आफ्ना कमजोरी पनि स्वीकार गर्दै ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्छ। सुरक्षित र जिम्मेवार ढंगले सवारी चलाउँदा दुर्घटना न्यूनीकरणका साथै राइडरको छवि पनि सकारात्मक बन्ने उनले बताइन्। बिसुन्केले पछिल्लो समय अफलाइन राइडको चलन बढ्दै गएकोप्रति पनि चिन्ता व्यक्त गरिन्। उनका अनुसार अफलाइन सेवा दिँदा दुर्घटना भए बीमा दाबी गर्न कठिन हुने भएकाले यस्तो अभ्यासबाट टाढा रहन राइडरहरूलाई आग्रह गरिएको छ।राइडरका लागि छुट्टै पहिचान खुल्ने पोसाकको व्यवस्था गर्नुपर्ने माग सरकारसमक्ष राखिएको जानकारी दिँदै उनले यसले नियमनलाई सहज बनाउनुका साथै राइडरको पहिचान स्पष्ट हुने विश्वास व्यक्त गरिन्।
उनले राइडरहरूको आर्थिक अवस्था अझै कमजोर रहेको उल्लेख गर्दै प्रतिकिलोमिटर ९ देखि १० रुपैयाँको पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता रहेको बताइन्। धेरै राइडर विद्यार्थी तथा दैनिक आम्दानीमा निर्भर भएकाले न्यून आम्दानीमै काम गर्न बाध्य रहेको उनको भनाइ थियो। बिसुन्केले राइड सेयरिङ कम्पनीहरूले राइडरको श्रमअनुसार उचित पारिश्रमिक र सुविधा उपलब्ध गराउन नसकेको आरोप पनि लगाइन्। साथै, राइड सेयरिङ क्षेत्रका लागि स्पष्ट कानुनी व्यवस्था बनाउन सरकारले ढिलाइ गरेको भन्दै राइडरको सुरक्षा, सामाजिक सुरक्षा र श्रमको सम्मान सुनिश्चित गर्न शीघ्र कानुन ल्याउन आवश्यक रहेको उनको जोड थियो।