काठमाडौँ । नेपालको सर्वाधिक प्रतीक्षित र लोकप्रिय टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ को चौंथो सिजनका लागि निर्णायकको टुंगो लागेको छ। यसपटकको सिजनमा जजहरूको संख्या घटाएर ३ जनामा सीमित गरिएको छ।
प्राप्त जानकारी अनुसार चौंथो संस्करणको जज प्यानलमा चर्चित हास्य कलाकार जितु नेपाल, अभिनेत्री ऋचा शर्मा र शोका निर्देशक समेत रहेका विशाल भण्डारी रहने सुनिश्चित भएको छ। अघिल्ला तीनवटै सिजनमा जजको रूपमा कुशल भूमिका निर्वाह गरेकी ऋचा शर्माले यो नयाँ सिजनमा पनि निरन्तरता पाएकी हुन्।
श्रोतका अनुसार दर्शकहरूलाई नयाँपन, ताजापन र फरक स्वाद महसुस गराउनका लागि नयाँ पुस्ता र पुराना अनुभवी हस्तीहरूलाई समेटेर यो जज प्यानल तयार पारिएको हो। यद्यपि, निर्माण पक्षबाट यसको औपचारिक घोषणा हुन भने बाँकी नै छ।
चौंथो सिजनको सञ्चालनमा पनि ठूलो फेरबदल गरिएको छ। यसपटक चर्चित कमेडियन मेक्सम गौडेल र पूर्वमिस नेपाल नम्रता श्रेष्ठले शो होस्ट गर्ने भएका छन्।
यस सिजनमा विशेष गरी ‘स्ट्यान्ड–अप कमेडी’ लाई बढी प्राथमिकता दिने तयारी निर्माण टोलीको छ। शोको डिजिटल अडिसन सकिएपछि भौतिक रूपमा गरिने अडिसनको छायांकन (सुटिङ) बुधबार (आज) देखि नै काठमाडौँको मूलपानीमा विशेष रूपमा निर्माण गरिएको सेटमा सुरु हुँदैछ।
चौंथो सिजनको विजेताले आकर्षक पुरस्कार हात पार्नेछन्। उत्कृष्ट हुने कमेडियनलाई २५ लाख रुपैयाँ नगद र २५ लाख रुपैयाँ नै मूल्य पर्ने शानदार गाडी पुरस्कार स्वरूप प्रदान गरिने भएको छ।
शोको प्रसारण आगामी साउन महिनाको पहिलो सातादेखि गर्ने गरी आन्तरिक तयारी तीव्र पारिएको छ। चौंथो सिजन सफलतापूर्वक सम्पन्न गरेलगत्तै कमेडी च्याम्पियनको टोली ’अस्ट्रेलिया टूर’ मा जाने र त्यसपछि चलचित्र (फिल्म) निर्माणको काममा समेत जुट्ने योजना रहेको बुझिएको छ।