काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल सुप्रसिद्ध तथा लोकप्रिय गायक यम बराल विगत करिब डेढ महिनादेखि काठमाडौँको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयू शिक्षण अस्पताल) मा उपचाररत छन्। पछिल्ला केही दिनयता गरिएको विस्तृत स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूले उनलाई रक्त सम्बन्धी क्यान्सरको एक प्रकार ‘मल्टिपल माइलोमा’ भएको आशंका गरेका छन्।
यसअघि वरिष्ठ अभिनेता तथा कलाकार कृष्ण मल्लले सामाजिक सञ्जालमा गायक बराल अस्वस्थ भई अस्पताल भर्ना भएको उल्लेख गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। उक्त पोस्टमा बराल ‘ल्युकेमिया’ (रक्त क्यान्सर) बाट पीडित भएको उल्लेख भएपछि सामाजिक सञ्जालमा व्यापक चासो र चिन्ता बढेको थियो।
तर, गायक बरालका भतिजा एवं सञ्चारकर्मी सञ्जय बरालका अनुसार सामाजिक सञ्जालमा फैलिएको ल्युकेमिया सम्बन्धी जानकारी पुष्टि भएको छैन। चिकित्सकहरूले हालसम्म ‘मल्टिपल माइलोमा सस्पेक्टेड’ (आशंका) मात्र गरेको उनले स्पष्ट पारेका छन्।
गायक बराल लामो समयदेखि ढाडको समस्याबाट ग्रसित थिए। उपचारकै क्रममा पछिल्लो समय उनलाई हिँडडुल गर्न समेत गाह्रो भएपछि शिक्षण अस्पतालको अर्थोपेडिक वार्डमा भर्ना गरिएको थियो। विस्तृत परीक्षणका क्रममा ४–५ दिनअघि मात्र चिकित्सकहरूले मल्टिपल माइलोमाको आशंका गरेका हुन्। हाल उनको रोगको अवस्था (स्टेज) निर्धारण गर्ने प्रक्रिया र थप चिकित्सकीय परामर्श जारी रहेको छ।
सञ्जय बरालका अनुसार गायक यम बरालले आफ्नो स्वास्थ्य अवस्थाबारे बाहिर सार्वजनिक नगर्न परिवारलाई आग्रह गरेका कारण अहिलेसम्म यस विषयमा औपचारिक जानकारी दिइएको थिएन। तर, सामाजिक सञ्जालमा शुभचिन्तकहरूले पोस्ट गरेपछि यो विषय बाहिर आएको हो।
अहिले रोगको स्टेज र उपचारको थप योजना तय गर्ने काम भइरहेको र चिकित्सकहरूको अन्तिम निष्कर्ष र सल्लाह बमोजिम आवश्यक परेमा उनलाई चाँडै नै भारतको नयाँ दिल्ली लैजाने विषयमा परिवारभित्र गम्भीर छलफल भइरहेको छ।
https://www.facebook.com/share/p/1Bj69DoH1o/
https://www.facebook.com/share/p/1BRmZYNhc8/