काठमाडौँ । चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्।
नवनियुक्त उपाध्यक्ष डा. खत्रीलाई मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच शिक्षा तथा खेलकुद मन्त्री एवं आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गरेका छन्।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेपछि आयोगका तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झालगायतका पदाधिकारीहरू पदमुक्त भएका थिए। सोपश्चात् आयोगको उपाध्यक्ष पद खाली रहँदै आएको थियो।
उपाध्यक्ष पद रिक्त भएपछि दैनिक प्रशासनिक तथा महत्त्वपूर्ण कार्यहरू सञ्चालनका लागि अर्को व्यवस्था नभएसम्मका लागि आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी सुम्पिएको थियो। डा. खत्रीको नयाँ नियुक्तिसँगै अब आयोगले पूर्णकालीन नेतृत्व पाएको छ।
नेपालको चिकित्सा शिक्षा क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र नियमनकारी भूमिका बलियो बनाउन नवनियुक्त उपाध्यक्ष डा. खत्रीको कार्यकाल चुनौतीपूर्ण र महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ।