काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई बयानका लागि उपस्थित हुन एक साताको समय दिँदै पत्र जारी गरेको छ ।
विभागले मंगलबार सूचना जारी गरी ७ दिनभित्र देउवालाई बयानका लागि उपस्थित हुन निर्देशन दिएकाे हाे ।
विभागले उनलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७१ बमोजिम सात दिनभित्र विभागको केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुरमा उपस्थित हुन भनेको हाे ।
अनुसन्धानको सिलसिलामा बयान लिन आवश्यक भएकाले बोलाइएको सूचनामा उल्लेख छ ।
विभागका अनुसार सम्बन्धित व्यक्तिको ठेगानामा सम्पर्क हुन नसकेपछि प्रचलित कानुनअनुसार सार्वजनिक सूचना प्रकाशन गरी हाजिर हुन आह्वान गरिएको हो ।
तोकिएको अवधिमा उपस्थित नभए प्रचलित कानुनबमोजिम प्रक्रिया अघि बढाइने चेतावनी पनि सूचनामा भनिएकाे छ ।