काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले बाँदर, बँदेल र हात्तीको बढ्दो आतंकका कारण किसानहरूको दैनिकी कष्टकर बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जंगली जनावरको आक्रमणले किसानले मेहनत गरेर लगाएको अन्नबाली नष्ट हुनुका साथै घरमा भण्डारण गरिएको अन्नसमेत सुरक्षित नरहेको बताइन्। उनका अनुसार देशका विभिन्न स्थानमा बाँदर र बँदेलको समस्या यति बढेको छ कि धेरै किसान गाउँ छाड्न बाध्य भइरहेका छन्। खेतबारीमा लगाइएको बाली मात्र होइन, घरभित्र राखिएको खाद्यान्नसमेत बाँदरले नोक्सान पुर्याउने गरेको उनले उल्लेख गरिन्। सांसद शर्माले बाँदरको आक्रमणका कारण सर्वसाधारण एक्लै हिँडडुल गर्नसमेत डराउनुपर्ने अवस्था सिर्जना भएको बताउँदै यसले ग्रामीण जनजीवनमा थप समस्या निम्त्याएको धारणा राखिन्। उनले बाँदर, बँदेल र हात्तीबाट भइरहेको क्षति रोक्न सरकारले तत्काल प्रभावकारी योजना बनाएर नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्ने माग गरिन्।