काठमाडौँ । गायक, सङ्गीतकार तथा निर्देशक प्रकाश सपूतको नयाँ सन्देशमूलक गीत ‘कर्तव्य’ सार्वजनिक भएको छ । विगतमा निकै रुचाइएको गीत ‘मेरो पनि हैन र यो देश’ को अपार सफलतापछि उनले यसको दोस्रो भागका रूपमा ‘कर्तव्य’ बजारमा ल्याएका हुन ।
देशको वर्तमान माटोको अवस्था र भावी सन्ततिको उज्ज्वल भविष्यका लागि अब ‘केही गरौँ’ भन्ने दर्बिलो र सकारात्मक भाव बोकेको उक्त गीतमा प्रकाशले सरकारलाई नागरिकका तर्फबाट महत्त्वपूर्ण आग्रहहरू गरेका छन्।
सर्जक सपूतले गीतको माध्यमबाट देशमा आधारभूत आवश्यकताका लागि सङ्घर्ष गरिरहेका आम नेपालीको आवाजलाई मुखरित गरेका छन् । उनले गीत मार्फत सरकार र नागरिक दुवैलाई आफ्नो ’कर्तव्य’ बुझ्न झकझक्याएका छन् । आम नेपाली जनताका इच्छाहरू धेरै ठूला र पूरा गर्नै नसकिने खालका छैनन्, मात्र गाँस, बास र न्याय जस्ता सामान्य कुराहरू छन् । ती सामान्य इच्छालाई सरकारले पूरा गरिदिनुपर्ने भाव गीतमा कोरिएको छ ।
यस गीतमा तराईका थारू समुदायको मौलिकता र कर्णालीका जनताको रैथाने देउडा भाका मार्फत त्यहाँको वास्तविक दुःख–पीडालाई निकै मार्मिक शब्दमा समेटिएको छ । केही गरौँ भन्ने सकारात्मक ऊर्जा बोकेका शब्दहरू कोर्दै गायक सपूतले वर्षौँदेखि ओत लाग्ने ठाउँ नपाएर छटपटाइरहेका भूमिहीन सुकुम्बासीहरूलाई व्यवस्थित रूपमा बस्ने व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरेका छन् ।
पार्ट १ जस्तै प्रकाश सपूतको यो नयाँ सिर्जनाले पनि देशमा बढ्दै गएको चरम निराशाका बीच युवाहरूमा देशभक्तिको भावना जागृत गराउन र सरकारलाई जनताप्रति उत्तरदायी बनाउन ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ ।
https://www.youtube.com/watch?v=clBMqnaAWkE