काठमाडौँ । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित गरे पनि त्यसअनुसारको अभ्यास हुन नसकेको बताएका छन्।
मंगलबार राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका सरोकारवालाबीच विचार आदान–प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बोल्दै उनले संघीयताको प्रभावकारी कार्यान्वयनमा प्रमुख राजनीतिक दलहरू पर्याप्त इमान्दार नदेखिएको टिप्पणी गरे। यादवले संविधानको प्रस्तावनामै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा परिभाषित गरिएको उल्लेख गर्दै व्यवहारमा भने त्यसको मर्मअनुसार काम हुन नसकेको बताए। उनले भने, संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र भनेको छ। तर व्यवहारमा त्यो पूर्ण रूपमा कार्यान्वयन भएको छैन।
केही दलबाहेक अधिकांश प्रमुख राजनीतिक शक्तिले संघीयताप्रति अपेक्षित प्रतिबद्धता देखाएनन्। यादवले आफू उपप्रधानमन्त्री रहेका बेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत बनाउन संविधान संशोधन गर्ने विषयमा सहमति भएको स्मरण गरे। तर केही महिनापछि संघीयता र धर्मनिरपेक्षता बाह्य शक्तिले नेपालमा थोपरिएको भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि उक्त सहमति कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो।
उनले त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि संविधान संशोधन, प्रदेश प्रहरी समायोजनलगायत संघीयता कार्यान्वयनसँग सम्बन्धित विषय अघि बढाउने सहमति भएको बताए। प्रदेश प्रहरी समायोजन ऐन, २०७६ बने पनि सरकारले त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन नगरेकाले संघीयताको कार्यान्वयन अधुरै रहेको उनको दाबी थियो। यादवले कांग्रेस र कम्युनिस्ट दलहरूले सार्वजनिक रूपमा संघीयताको समर्थन गरे पनि व्यवहारमा त्यसअनुसारको प्रतिबद्धता नदेखिएको आरोप लगाए। उनले संघीय प्रणालीलाई सफल बनाउन भाषणभन्दा व्यवहार र कार्यान्वयनलाई प्राथमिकता दिन राजनीतिक नेतृत्व तयार हुनुपर्नेमा जोड दिए।