काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुद केवल प्रतिस्पर्धाको माध्यम नभई समाजको शारीरिक र मानसिक स्वास्थ्य, सभ्यता, संस्कृति तथा समग्र विकासको प्रतिबिम्ब भएको बताएका छन्।
नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विश्व फुटबलमा नेपालभन्दा साना तथा विकासशील मुलुकहरूले उल्लेखनीय सफलता हासिल गरिरहेको उल्लेख गरे। त्यसको विपरीत नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थासम्म पुगेको भन्दै उनले चिन्ता व्यक्त गरे। उनले भने, खेलकुदले समाजको अवस्था, संस्कृति र सभ्यतालाई विश्वसामु चिनाउने काम गर्छ। अहिले विश्व फुटबलमा हामीभन्दा साना र विकासशील देशहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। तर नेपाली फुटबल भने अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुगेको छ। यो निकै दुःखद विषय हो।
ओलीले एन्फामाथि राजनीतिक तथा सरकारी हस्तक्षेप भएको आरोप लगाउँदै त्यही हस्तक्षेपका कारण अन्तर्राष्ट्रिय फुटबलमा नेपाल समस्यामा परेको दाबी गरे। उनले खेलकुद क्षेत्रलाई स्वतन्त्र, प्रतिस्पर्धी र योग्यतामा आधारित बनाउनुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार खेलाडीलाई उनीहरूको क्षमता र दक्षताअनुसार अवसर प्रदान गर्नुपर्छ। जुन विधामा प्रतिभा छ, त्यही क्षेत्रमा प्रोत्साहन गर्दा मात्र राम्रो नतिजा प्राप्त हुने उनले बताए।
त्यस्तै, खेलाडीको शारीरिक विकास, पोषण, नियमित प्रशिक्षण र आवश्यक पूर्वाधार सुनिश्चित गर्न सरकारको विशेष भूमिका रहने उल्लेख गर्दै उनले त्यसतर्फ पर्याप्त ध्यान दिनुपर्ने बताए। ओलीले खेलाडीले उचित आहार र प्रशिक्षणको अभाव झेल्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने धारणा राख्दै सरकारले खेलकुद क्षेत्रमा अनावश्यक हस्तक्षेप नगरी विकासका लागि अनुकूल वातावरण सिर्जना गर्नुपर्ने बताए। उनले सरकारकै हस्तक्षेपका कारण एन्फा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्धको अवस्थासम्म पुगेको दाबी गर्दै यस्तो परिस्थितिको अन्त्य गर्न सबै पक्षले पहल गर्नुपर्ने आवश्यकता रहेको बताए।