काठमाडौं । पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा वर्षा भएको छ । कोसीदेखि सुदूरपश्चिम प्रदेशसम्म अधिकांश भूभागमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार (असार १६) दिउँसो १ः०५ बजे गरिएको पछिल्लो २४ घण्टाको मापनमा सबैभन्दा बढी वर्षा कञ्चनपुरमा भएको देखिएको छ । यो अवधिमा कञ्चनपुरको हनुमाननगरमा १४७.४ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ । यो ‘धेरै भारी’ वर्षा हो ।
अहिले पनि मधेसबाहेक अरू प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको महाशाखाले जनाएको छ ।
मंगलबार देशका धेरै स्थानमा वर्षाको पूर्वानुमान छ । “कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।
आज र भोलि (असार १६–१७) मनसुनी गतिविधि बढ्ने महाशाखाको पूर्वानुमान छ । आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।