काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बदलिँदो समयको आवश्यकता अनुसार हुलाक सेवालाई आधुनिकीकरण गर्न नसके प्रभावकारी सेवा प्रवाह सम्भव नहुने बताएका छन्।
हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै उनले सरकारले हुलाकमार्फत कागजात तथा पार्सलहरू निर्धारित समयमा गन्तव्यसम्म पुर्याउने लक्ष्यसहित काम गरिरहेको बताए। मन्त्री तिमिल्सिनाले हुलाक सेवा विभाग र यस क्षेत्रमा कार्यरत निजी सेवा प्रदायकसँग सहकार्य गर्दै सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी समाधानका लागि सरकार सक्रिय रहेको जानकारी दिए। उनले हुलाक सेवालाई आधुनिक प्रविधिसँग जोडेर थप सबल, भरपर्दो र छिटो बनाउनुपर्ने आवश्यकता औँल्याए।
सेवा प्रवाहमा लाग्ने समय घटाउन नसके हुलाकले लोकप्रिय र प्रतिस्पर्धी सेवा प्रदायकका रूपमा आफ्नो स्थान कायम राख्न कठिन हुने उनको भनाइ थियो। उनका अनुसार नागरिकको बदलिँदो सोच, समयको मूल्य र सेवाप्रतिको अपेक्षालाई ध्यानमा राख्दै डेलिभरी प्रणालीलाई पुनःसंरचना गर्न आवश्यक छ। त्यसअनुसार सेवा सञ्चालन गर्न सके हुलाक क्षेत्रलाई थप प्रभावकारी र विश्वासिलो बनाउन सकिने उनले बताए। मन्त्री तिमिल्सिनाले परम्परागत कार्यशैलीमा सीमित नभई हुलाक सेवालाई समयसापेक्ष रूपमा रूपान्तरण गर्दै आधुनिक प्रविधिको प्रयोगमार्फत सेवा विस्तार गर्नुपर्नेमा पनि जोड दिए।