काठमाडौँ । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले संसदको गरिमा, प्रभावकारिता र विश्वसनीयतालाई अझ मजबुत बनाउन सबै राजनीतिक दल र सरोकारवालाको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।
संसद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संसद लोकतन्त्रको प्रमुख आधार भएकाले जनताका आवाज र सरोकारलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने साझा जिम्मेवारी सबैको भएको उल्लेख गरे। उनले वि।सं। २०१६ साल असार १६ गते जननिर्वाचित संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनले नेपाली जनताको लोकतान्त्रिक आन्दोलन, जनप्रतिनिधिमूलक शासन व्यवस्था र संविधानवादप्रतिको दृढ विश्वासलाई स्मरण गराउने बताए। साथै, संसदमार्फत जनचाहना र जनसरोकारका विषयलाई सम्बोधन गर्ने दायित्वप्रति पुनः प्रतिबद्ध हुने अवसरका रूपमा पनि यस दिनलाई लिनुपर्ने उनको भनाइ छ।
आङदेम्बेले संसदलाई लोकतन्त्रको मेरुदण्डको संज्ञा दिँदै जनताको सार्वभौम इच्छालाई कानुन, नीति तथा राज्य सञ्चालनमार्फत कार्यान्वयन गर्ने सर्वोच्च लोकतान्त्रिक संस्थाका रूपमा यसको गरिमा कायम राख्नु सरकार, प्रधानमन्त्री, सभामुख, मन्त्री तथा सबै सांसदहरूको साझा दायित्व भएको बताए। उनका अनुसार संसदको प्रभावकारिता र विश्वसनीयता सुदृढ भए मात्रै लोकतान्त्रिक प्रणालीप्रति नागरिकको विश्वास अझ बलियो बन्न सक्छ। उनले नेपाली कांग्रेस लोकतन्त्रको संरक्षण, संविधानको कार्यान्वयन, विधिको शासन, मानव अधिकार तथा समावेशी र उत्तरदायी संसदीय अभ्यासप्रति सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै संसद दिवसले लोकतान्त्रिक मूल्य–मान्यताअनुरूप संसदलाई अझ सशक्त र प्रभावकारी बनाउने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।