काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचित केन्द्रीय सदस्यहरूको सूची सच्याएको छ।
सच्याएको सूची अनुसार जनजाति क्लष्टरतर्फ ध्रुवकुमार थापा मगर र प्रादेशिक भूगोलतर्फ पूजा बाँस्तोलालाई केन्द्रीय सदस्यमा निर्वाचित भएको उल्लेख छ।
आफूभन्दा कम मत ल्याएका व्यक्तिलाई केन्द्रीय सदस्यमा विजयी घोषणा गरिएको भन्दै मगर र बास्तोलाले पार्टी निर्वाचन आयोगमा उजुरी दिएका थिए।
उक्त उजुरी परेपछि असार १२ गते बसेको पार्टी निर्वाचन आयोगले त्रुटि सच्याएको हो। मगर र बाँस्तोला निर्वाचित हुँदा यसघि निर्वाचित भनेर घोषणा भएका कृष्णमान श्रेष्ठ र सोम शर्माको पद गएको छ।
‘महाधिवेशन निर्वाचन कार्यविधि २०८२ अनुसार जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठ निर्वाचित भएकोमा, मत परिणाम तथा उम्मेदवारी दर्ता गर्दा पेस गरिएको कागजपत्र तथा प्रमाण अध्ययन गर्दा ध्रुवकुमार थापा मगर निर्वाचित भएको देखिएकोले निज ध्रुव कुमार थापा मगरलाई निर्वाचित भएको निर्णय गर्ने निर्णय गरियो,’ आयोगको निर्णयमा भनिएको छ, ‘त्यसैगरी प्रादेशिक (भूगोल तर्फ) भएको मतदानमा गण्डकी प्रदेशको मत परिणाममा पूजा बास्तोलालाई निर्वाचित हुनुपर्नेमा सोम शर्मा हुन गएकोले प्राप्त मत परिणामको आवश्यक अध्ययन गरी पूजा बास्तोलालाई गण्डकी प्रदेश, प्रादेशिक (भूगोल) तर्फ निर्वाचित घोषणा गर्ने निर्णय गरियो।’
गत शुक्रबार सकिएको महाधिवेशनमा ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो। ३८४ जनाले उम्मेदवारी दिएका थिए। ३८४ जनाले नै ल्याएको मत सार्वजनिक भएको थियो।
तीमध्ये धेरै मत ल्याउने ९९ जना निर्वाचित भएको घोषणा भएको थियो। तर यसरी घोषणा हुँदा आफूभन्दा कम मत ल्याएकाहरूलाई केन्द्रीय सदस्य घोषणा गरिएको भन्दै मगर र बास्तोलाले उजुरी दिएका थिए।