काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मुलुकमा सुशासन, समृद्धि र भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन राज्यका तीनै अङ्गबीच कार्यगत समन्वय र सक्रियता अपरिहार्य रहेको बताएका छन्।
६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सरकार, संसद् र न्यायपालिकाले संविधानको भावना अनुरूप जिम्मेवारी निर्वाह गर्दै साझा लक्ष्यतर्फ अघि बढ्नुपर्ने बताए। सभामुख अर्यालले जनजीविका, राष्ट्रिय हित, सुशासन र समृद्ध राष्ट्र निर्माणका सवालमा सरकारलाई निरन्तर खबरदारी गर्न नागरिक समाज, सञ्चारमाध्यम तथा सरोकारवालाहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। विकासलाई अनावश्यक प्रक्रियागत झन्झटमा अल्झाउनु नहुने भन्दै उनले भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरे।
उनले अनुभवी पुस्ताको ज्ञान र नयाँ पुस्ताको प्रविधिमैत्री सोचलाई समन्वय गरेर मात्रै देशलाई तीव्र विकासको बाटोमा अघि बढाउन सकिने धारणा राखे।‘जनजीविका, राष्ट्रियता, सुशासन, समृद्धि र भ्रष्टाचार नियन्त्रणका विषयमा हामीलाई निरन्तर सचेत गराइरहनुहोस्,’ उनले भने, ‘विश्वका विभिन्न मुलुकमा रहेका नेपालीले पनि नेपाल फर्किन चाहने वातावरण सिर्जना गर्नु हाम्रो साझा जिम्मेवारी हो।’सभामुख अर्यालले संविधानको पूर्ण पालना गर्दै कानुनी शासनको मूल्यमान्यतामा कुनै असर पर्न नदिन सबै पक्ष सचेत हुनुपर्ने बताए।
जनप्रतिनिधिलाई प्रश्न गर्ने र आवश्यक खबरदारी गर्ने अधिकार तथा दायित्व नागरिकको भएको उल्लेख गर्दै उनले संसद् जनताप्रति सधैं उत्तरदायी रहनुपर्ने धारणा व्यक्त गरे।उनले मर्यादाको विषयमा हुने बहस आवश्यक भए पनि त्यसकै बीचमा विकास, सुशासन र भ्रष्टाचार नियन्त्रणजस्ता मूल मुद्दा ओझेलमा पर्न नहुने उल्लेख गर्दै संसद्को ध्यान जनताका प्राथमिक सरोकारमा केन्द्रित हुनुपर्नेमा जोड दिए।