काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र विश्वसनीयता कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र प्रस्तुतिमा विशेष जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएकी छन्।
६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले संसद् जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था भएकाले यसको मर्यादा जोगाउने दायित्व सांसदहरूको आचरणबाटै पुष्टि हुने उल्लेख गरिन्। पछिल्ला वर्षहरूमा संसद्को गुणस्तर खस्किएको भन्ने जनस्तरबाट उठिरहेका गुनासाप्रति आत्मसमीक्षा आवश्यक रहेको उनको भनाइ थियो। उनले सांसदहरूलाई संसदीय अभ्यासलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्दै प्रक्रियागत तथा प्राविधिक विषयहरू सदनबाहिर हुने अनौपचारिक छलफलबाटै समाधान गर्न सकिने धारणा राखिन्।
‘पहिलाको तुलनामा अहिले संसद्को गुणस्तर कमजोर भएको भन्ने टिप्पणी सुनिन्छ। यस्तो अवस्था किन सिर्जना भयो भन्ने विषयमा हामी सबैले गम्भीर रूपमा सोच्नुपर्छ,’ उनले भनिन्। मन्त्री गौतमले संसद्मा हुने छलफल जनताका वास्तविक सरोकारमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै सांसदहरूले आफ्नो समयको अधिकतम सदुपयोग गर्नुपर्ने बताइन्। संसद्मा प्रयोग हुने भाषा, शब्द चयन, उच्चारण र पोशाकसम्मले पनि संस्थाको गरिमा झल्काउने भएकाले हरेक पक्षमा मर्यादा कायम गर्नुपर्ने उनको भनाइ थियो। उनले दलहरूबीचका विवाद वा
प्रक्रियागत विषयहरू अनौपचारिक बैठकमार्फत टुङ्ग्याएर संसद्को बैठकलाई शिक्षा, स्वास्थ्य, विकास तथा जनजीविकासँग सम्बन्धित मुद्दामा केन्द्रित गर्नुपर्ने धारणा राखिन्। जनताले तिरेको करबाट राज्य सञ्चालन हुने र सांसदहरूको सेवा–सुविधा पनि त्यही स्रोतबाट व्यवस्थापन हुने उल्लेख गर्दै उनले संसद्को समय सरकारलाई जनसरोकारका विषयमा जवाफदेही बनाउन प्रयोग हुनुपर्ने बताइन्। संसद्प्रति नागरिकको विश्वास अझ बलियो बनाउने र संस्थाको गरिमा उच्च राख्न आफू व्यक्तिगत रूपमा पूर्ण प्रतिबद्ध रहेको मन्त्री गौतमले दोहोर्याइन्।