काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बारा र पर्साका सीमा नाकाहरूमा आकस्मिक अनुगमन गरेका छन् । शुक्रवार साँझ मधेसका बारा र पर्सा पुगेका गृहमन्त्री गुरुङ कहाँ बास बसे भन्नेबारे सुरक्षा निकायले थाहै पाएनन् ।
शनिबार सीमरा हुँदै गृहमन्त्री काठमाडौँ फर्किने सूचना पाएपछि बारा र पर्साका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरू विमानस्थल पुगे । बरामा कार्यरत प्रहरीका एकजना अधिकृत भन्छन्, ‘उहाँ अनौपचारिक अनुगमनमा आउनुभएको रहेछ, सिमरा एयरपोर्टमा प्रजीअ र सुरक्षा प्रमुखहरूसँग भेट भएको थियो ।’
सिमरामा मन्त्री गुरुङले गृह प्रशासनका अधिकारीहरूलाई सिमानाबाट हुने सवैखाले तस्करी नियन्त्रण गर्न निर्देशन दिए ।
सुरक्षा स्रोतका अनुसार गृहमन्त्री गुरुङले शनिवार पर्साको जगरनाथपुर गाउँपालिकामा स्थित सीमावर्ती क्षेत्र जानकी टोला, ड्राइपोर्ट र बाराको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा नाकाको अनुगमन गरेका हुन् । गुरुङले स्थानीयसँग संवाद गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएको छ ।