काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४, जगडोलस्थित गेटवे एड्भेन्चर हब क्लाइम्बिङ सेन्टरमा यही असार २७ र २८ गते ‘टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०२६’ आयोजना हुने भएको छ।
नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको मार्गदर्शनमा काठमाडौँ उपत्यका विशेष समिति र बागमती प्रदेश क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो। प्रतियोगिता जुलाई ११ र १२ तारिख (असार २७ र २८) मा सञ्चालन हुनेछ। उद्घाटन जुलाई ११ बिहान ७ बजे र पुरस्कार वितरण जुलाई १२ अपराह्न ४ बजे हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको मुख्य उद्देश्य नेपालमा क्लाइम्बिङ खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धाका लागि तयार गर्नु रहेको छ। प्रतियोगितामा ‘टप रोप’ र ‘लिड क्लाइम्बिङ’ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ। टप रोप विधा नयाँ खेलाडीका लागि खुला रहनेछ भने लिड क्लाइम्बिङ पुरुष तथा महिला दुवैका लागि खुला हुनेछ। टप रोपमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। लिड क्लाइम्बिङतर्फ प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ।
उत्कृष्ट प्रदर्शन गर्ने थप १० खेलाडीलाई विशेष प्रतिभा पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ। आयोजकले नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनका आधिकारिक प्रतियोगितामा सहभागी भइसकेका खेलाडीलाई टप रोप विधामा सहभागी हुन नपाउने व्यवस्था गरिएको स्पष्ट पारेको छ। प्रतियोगिताले नेपालमा साहसिक खेलकुदको प्रवद्र्धन गर्दै भविष्यका अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।