काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखिएको बताएका छन्।
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले स्थानीय तहबाट आवश्यक पहल नहुँदा कतिपय योजना अघि बढ्न नसकेको उल्लेख गरे। उनका अनुसार बजेट पूर्वसन्ध्यामा धेरै पालिकाले विशिष्ट तथा सम्पूरक अनुदानका लागि माग नै नगरेको अवस्था पनि देखिएको छ। भट्टले चालु आर्थिक वर्षमा समेत दर्जनौँ पालिकाले अनुदानका लागि आवश्यक प्रक्रिया पूरा नगरेको कारण स्रोत उपयोगमा समस्या देखिएको बताए।
उनले निर्वाचन क्षेत्रका सांसदहरूले विकास योजना लैजान खोजे पनि स्थानीय तहबाट आयोजना प्रस्ताव नआउने अवस्था रहेको उल्लेख गर्दै यसलाई ‘समन्वयको अभाव’ भने। उनका अनुसार विकास योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न तीनै तहका सरकार र जनप्रतिनिधिबीच नियमित संवाद र सहकार्य आवश्यक छ। त्यसैगरी, सुदूरपश्चिम प्रदेश सभाअन्तर्गतको समितिका सभापति घनश्याम चौधरले पनि संघीय प्रणालीलाई सफल बनाउन सबै तहबीच समन्वय मजबुत हुनुपर्नेमा जोड दिएका छन्।