काठमाडौँ । रोटरी इन्टरनेशनलका निर्देशक बासुदेव गोल्यानले रोटरी जर्नो अवार्ड २०२५–२०२६ को मुख्य उद्देश्य मेहनतपूर्वक काम गर्ने उत्कृष्ट पत्रकारलाई प्रोत्साहन र सम्मान गर्नु रहेको बताएका छन्।
कार्यक्रममा उनले रोटरीले लामो समयदेखि पत्रकारहरूलाई सम्मान गर्दै आएको उल्लेख गर्दै यो कुनै व्यक्तिगत निर्णय नभई संस्थागत सहमतिमा प्रदान गरिने अवार्ड भएको स्पष्ट पारे। उनका अनुसार रोटरी समाजसेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था हो, जसले आफ्नो स्रोत साधन प्रयोग गरेर समाजसेवी कामहरू गर्दै आएको छ। उनले पहिले रोटरीलाई धनी व्यक्तिहरूको संस्था भन्ने धारणा रहे पनि अहिले त्यो बुझाइ परिवर्तन भएको बताए। गोल्यानले सबै सदस्यहरूको सहभागिता र सहमतिमा सम्मान प्रदान गरिने भएकाले यो सामूहिक प्रयासको परिणाम भएको पनि उल्लेख गरे। यस अवसरमा ७ जना सञ्चारकर्मीलाई रोटरी जर्नो अवार्डबाट सम्मान गरिएको छ।