काठमाडौँ । पत्रकार ऋषि धमलाले सुशासन, भ्रष्टाचार नियन्त्रण तथा विकास–समृद्धिका मुद्दालाई केन्द्रमा राख्दै ‘जेनजी आन्दोलन’लाई देशव्यापी बनाउने अभियान सुरु भएको बताएका छन्।
सोमबार सुदूरपश्चिमका घाइते जेनजी युवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले युवाहरू भ्रष्टाचार, नातावाद र कुशासनविरुद्ध आवाज उठाउँदै सडकमा आएको उल्लेख गरे। सुदूरपश्चिमबाट सुरु भएको यो अभियान अब देशभर विस्तार हुने उनको भनाइ थियो। धमलाले सुशासन, विकास र समृद्धिका पक्षमा सुदूरपश्चिमका युवाहरूले देखाएको सक्रियता अन्य युवाका लागि पनि प्रेरणादायी रहेको बताए। उनले परिवर्तन, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा सुधारका लागि युवाहरूले निरन्तर खबरदारी र दबाब सिर्जना गर्नुपर्ने धारणा राखे।
उनले वर्तमान सरकार गठनमा युवा पुस्ताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सरकारका सकारात्मक कामको समर्थन र कमजोरीप्रति सचेत गराउने जिम्मेवारी पनि युवाकै काँधमा रहेको बताए। कार्यक्रममा उनले देश परिवर्तन गर्ने सोच, क्षमता र प्रतिबद्धता युवाहरूमा रहेको भन्दै उनीहरूको आवाज र एजेन्डालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन आवश्यक रहेको बताए। धमलाले आन्दोलनका क्रममा घाइते भएका केही युवाहरू अझै उपचार र विभिन्न समस्यासँग जुधिरहेको उल्लेख गर्दै उनीहरूको पक्षमा आफूहरू निरन्तर साथमा रहने प्रतिबद्धता पनि व्यक्त गरे।