काठमाडौँ । नेपालमा स्मार्टफोन आयात पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ४३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्यका करिब २० लाख ४१ हजार थान स्मार्टफोन आयात भएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ३५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा करिब ३२ अर्ब रुपैयाँ बराबरका १९ लाख ७५ हजार थान स्मार्टफोन आयात भएका थिए।
जेठ महिनामा मात्रै ४ अर्ब ६ करोड रुपैयाँभन्दा बढीका करिब १ लाख ७७ हजार थान स्मार्टफोन भित्रिएका छन्। आयातको मुख्य स्रोत चीन रहेको छ, जहाँबाट मात्र करिब ३२ अर्ब ८४ करोड रुपैयाँ बराबरका १७ लाखभन्दा बढी स्मार्टफोन नेपाल आएको देखिन्छ। स्मार्टफोन आयातसँगै सरकारले प्राप्त गर्ने राजस्व पनि बढेको छ। यस अवधिमा मात्र स्मार्टफोन आयातबाट करिब ८ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा बढी हो। व्यवसायीहरूका अनुसार नयाँ प्रविधिको माग, स्मार्टफोनको बढ्दो प्रयोग र पुराना फोन प्रतिस्थापन गर्ने चलनका कारण आयात लगातार बढिरहेको छ।