काठमाडौँ । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत दोस्रो दिन निर्धारित समयभन्दा झण्डै पाँच घण्टा बितिसक्दा पनि बन्दसत्र सुरु हुन सकेको छैन।
कार्यतालिका अनुसार बिहान साढे ८ बजे सुरु हुनुपर्ने बन्दसत्र प्रतिनिधि नामावलीमा देखिएको त्रुटि सच्याउने प्रक्रिया पूरा नभएकाले ढिलो भएको हो। रास्वपा प्रवक्ता मनिष झाले नामावली रुजु तथा संशोधनको काम बाँकी रहेकाले बन्दसत्र सुरु हुन ढिलाइ भएको जानकारी दिएका छन्। निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको करिब ४ हजार प्रतिनिधिको प्रारम्भिक सूचीमा विभिन्न त्रुटि भेटिएपछि त्यसलाई सच्याउने प्रक्रिया चलिरहेको छ। प्रतिनिधिहरूबाट पनि नामावली सच्याउन निवेदन दिनुपर्ने व्यवस्था भएकाले समय लागेको बताइएको छ। प्रवक्ता झाका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि बन्दसत्र छिट्टै सुरु गरिनेछ। बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेसहितका नेताहरूले विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने कार्यतालिका रहेको छ