काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ३० ले आफ्नो वडाभित्र रहेका १९८ जना वरिष्ठ ज्येष्ठ नागरिकहरूलाई एक विशेष समारोहका बीच सम्मान गरेको छ। आफ्नो उर्वर समयमा समाज, राष्ट्र र समुदायका लागि पु¥याउनुभएको अतुलनीय योगदानको कदर स्वरूप यो सम्मान प्रदान गरिएको जनाएको छ ।
कार्यक्रमको अध्यक्षता समेत राजनीतिक वा प्रशासनिक व्यक्तित्वलाई नभई आमन्त्रित वरिष्ठ ज्येष्ठ नागरिकमध्येकै एक, त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा. डा. पार्थिवेश्वर तिमिल्सिनालाई गराएर विशिष्ट संस्कारको सुरुवात गरिएको थियो।
सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्ष दलबहादुर कार्कीले आधुनिक समाजमा ज्येष्ठ नागरिकहरू एक्लोपनको सिकार हुन थालेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले भने, “परिवारका सदस्यहरूलाई ज्येष्ठ नागरिकसँग कुरा गर्ने र उहाँहरूका मनका कुरा सुन्ने फुर्सद छैन। यस बेला उहाँहरूलाई ’तपाईँहरू एक्लो हुनुहुन्न, तपाईँका बारेमा सोच्ने कोही छन्’ भनेर राज्यको उपस्थिति र आत्मीय अनुभूति दिनु हाम्रो कर्तव्य हो।”
वडाध्यक्ष कार्कीले ज्येष्ठ नागरिक समाजको धरातल र ज्युँदो इतिहास भएको उल्लेख गर्दै उनीहरूको अनुभव र योगदानको पुस्तान्तरण गर्ने संस्कृतिको विकास गराउन वडाले यो प्रयास थालेको स्पष्ट पारेका छन् ।
कार्यक्रमका अध्यक्ष एवं पूर्व रजिष्ट्रार प्रा. डा. तिमिल्सिनाले वडाको यस कार्यको प्रशंसा गर्दै यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकलाई घर बाहिर आउन र सामाजिक रूपमा सक्रिय रहन ठूलो बल पुग्ने बताए । “वास्तविक विकास त यही हो, जहाँ नागरिकले आफ्नो स्थानीय सरकारलाई सुन्न, छाम्न र महसुस गर्न सक्छन्,“ उनले भने ।
वडा सचिव देवराज जोशीका अनुसार कार्यक्रममा वडाभित्रका १०६ जना महिला र ९२ जना पुरुष गरी कुल १९८ जना वरिष्ठ नागरिकलाई सम्मान गरिएको हो। यसरी सम्मानित हुनेहरूमध्ये सबैभन्दा पाको उमेरकी ९४ वर्षीया वृद्ध माता लक्ष्मी कपालीलाई विशेष सम्मान गरिएका वडा सचिवले जानकारी दिए ।