बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकामा प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। बराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित ‘सत्र नम्बर’ भन्ने ठाउँको कोशी नदी किनारबाट बेवारिसे अवस्थामा राखिएको १६८ केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
नदी किनारमा शंकास्पद रूपमा प्लास्टिकका बोराहरू थुपारिएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त परिमाणको लागुऔषध फेला पारेको हो।
प्रहरीका अनुसार तस्करहरूले नदी मार्ग हुँदै गाँजा ओसारपसार गर्ने योजना अनुरूप कोशी नदीको किनारमा ट्युब र बाँसको सहायताले गाँजा लुकाएर राखेका थिए। सुरक्षा निकायले खानतलासी गर्दा पानीको बहाव र हिलोबाट जोगाउन ९ वटा बलिया प्लास्टिकका बोराहरूमा प्याक गरी राखिएको अवस्थामा १६८ केजी गाँजा फेला परेको हो।
प्रहरी टोली पुग्नुअगावै तस्करहरू फरार भइसकेकाले घटनास्थलबाट कोही पनि पक्राउ परेका छैनन्। बरामद गरिएको अवैध गाँजालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको छ।
कोशी नदीको जलमार्ग प्रयोग गरेर गाँजा तस्करी गर्न खोज्ने गिरोह को–को हुन् र यो गाँजा कहाँबाट कहाँ लैजान लागिएको थियो भन्नेबारे स्थानीय प्रहरी र जिल्लाको विशेष अनुसन्धान टोलीले खोजी कार्य तथा थप अनुसन्धान तीव्र बनाएको छ।